‘खोटाङ प्रतिभा–२०८०’ गायनतर्फ आश्विन राई र नृत्यतर्फ कविता श्रेष्ठले पारे पोल्टामा

काठमान्डौं । खोटाङ प्रतिभा–२०८० को ‘फाइनल अडिसन’मा गायनतर्फ आश्विन राई र नृत्यतर्फ कविता श्रेष्ठ छनोट भएका छन् ।
खोटाङ कलाकार समाज र खोटाङ सेवा समाज बेलायतले संयुक्तरूपमा सोमबार काठमाडौँमा आयोजना गरेको फाइनल अडिसनमा नौ–नौजना प्रतिस्पर्धीलाई पछाडि पार्दै गायनतर्फ हलेसी तुवाचुङ नगरपालिकाका आश्विन र नृत्यतर्फ खोटेहाङ गाउँपालिकाकी कविता ‘खोटाङ प्रतिभा–२०८०’ छनोट भएका हुन् ।
प्रतिभा खोजी गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा गायनतर्फ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रदीप राई दोस्रो र बराहपोखरी गाउँपालिकाका लक्ष्मण परियार तेस्रो भएका छन् ।
यस्तै नृत्यतर्फ बराहपोखरी गाउँपालिकाका सुवास विश्वकर्मा दोस्रो र दिप्रुङ चुइचुम्मा गाउँपालिकाकी मनिता राई तेस्रो भएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने प्रतिभालाई क्रमशः नगद रु दुई लाख दुई हजार, रु एक लाख एक हजार र रु ५१ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजक खोटाङ कलाकार समाजका अध्यक्ष रुपकुमार राईले जानकारी दिनुभएको छ ।
SHARE