फुटपाथ व्यवसायीमाथि महानगरपालिकाले एक्कासि भौतिक आक्रमण गर्‍यो

बुधबार राति पौने ८ बजे काठमाडौं महानगरपालिकाको सुन्धारामा नगर प्रहरीको एक जत्थाले फुटपाथ व्यवसायीमाथि एक्कासि भौतिक आक्रमण गर्‍यो ।फुटपाथ व्यवसायीका अनुसार करिब ५० नगर प्रहरीको हुल लिएर आएका नगर उपरीक्षक मनोज लामिछानेको टोलीले भटाभट लाठी चार्ज गर्न थाल्यो । एकछिन त फुटपाथ व्यवसायीले के भएको हो भन्ने नै भेउ पाएनन् ।

अरू बेला सामान जफत गर्न खोज्दा घम्साघम्सी हुने भए पनि हिजो राति नगर प्रहरी सामान खोस्न नभई आक्रमण गर्ने उद्देश्यले नै आएको सामाजिक सञ्जालमा व्याप्त भिडियोमा देखिन्छ ।बुधबार राति नगर प्रहरीको आक्रमणमा परी ७ जना फुटपाथ व्यवसायी घाइते भए । नगर प्रहरीले पनि ५ प्रहरी घाइते भएको जनाएको छ ।

फुटपाथ व्यवसायी अगुवा कुमार सापकोटाका अनुसार नगर प्रहरीको आक्रमणबाट फुटपाथ व्यवसायी बद्री देवकोटा, नानीमाया बस्नेत, राधिका मैनाली, राधा डंगोल, अर्जुन भट्टराई र अर्का एक घाइते छन् । उनीहरूलाई राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गर्न लगिएको थियो ।  चार नगर प्रहरी सामान्य घाइते भएका थिए भने एक जनालाई उपचारका लागि वीर अस्पताल लगिएको नगर प्रहरीले जनाएको छ ।

SHARE