बाह्रखरी मिडियाले वार्षिक रूपमा आयोजना गर्दै आएको कथा प्रतियोगिताको पाँचौं संस्करण ‘डिश होम १२खरी कथा लेखन प्रतियोगिता—२०८०’मा मनोजबाबु पन्तको ‘बुढो लाकुरीको रुख’ उत्कृष्ट भएको छ ।
आइतबार काठमाडौंमा भएको कार्यक्रममा कथा प्रतियोगिताको विजेता घोषणासँगै ‘उत्कृष्ट कथा–२०८०’ पनि लोकार्पण गरिएको हो। त्यस्तै प्रमोद प्याकुरेलको कथा ‘काँचुली’ले दोस्रो र विजय हितानको कथा ‘चेपाङ, चमेरो र चिउरी’ले तेस्रो स्थान हाँसिल गरेको छ । कार्यक्रमका प्रमुख अतिथि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले प्रथम, द्वितीय र तृतीय कथाकारहरूलाई क्रमशः एक लाख, साठी हजार तथा चालीस हजार रुपैयाँ नगद पुरस्कार प्रमाणपत्र तथा ट्रफी प्रदान गरे ।
लोकार्पण गरिएको कथासंग्रहमा नेपालसहित विश्वका विभिन्न मुलुकबाट प्रेषित ८ सय ४३ कथाहरूमध्येबाट उत्कृष्ट ठहरिएका २५ कथा समावेश गरिएको छ । यसमा अनिता पन्थी, उमा शर्मा, जेएन दाहाल, डिल्लीरमण पौडेल, तैँ तैँ धिताल, त्रिभुवनचन्द्र वाग्ले लगायत कथाकारका २५ उत्कृष्ट कथाका साथै चार वरिष्ठ आख्यानकर्मी भागीरथी श्रेष्ठ, भाउपन्थी, डा. राजेन्द्र विमल र गणेश रसिकका कथा पनि समाविष्ट छन् । कथा लेखन प्रतियोगिताको पाँचौं संस्करणमा विजयी उत्कृष्ट २५ कथा तथा अतिथि कथाकारहरूकोे कथासहित २९ कथाको सँगालो ‘बाह्रखरी उत्कृष्ट कथा–२०८०’ पब्लिसिङ् पार्टनर फाइन प्रिन्टले बजारमा ल्याएको हो । संग्रहको सम्पादन आख्यानकार नयनराज पाण्डेले गरेका हुन् ।
१२खरी बुक्सले कथा चयनका लागि आन्तरिक र बाह्य गरी दुईवटा मूल्याङ्कन समिति गरी बाह्य निर्णायकहरूमा प्रा. डा. सावित्री कक्षपतीको संयोजकत्वमा आख्यानकारहरू महेशविक्रम शाह र सुबिन भट्टराई सदस्य रहेका थिए । आन्तरिक मूल्यांकन समिति बाह्रखरीका विचार सम्पादक अधिकारीको संयोजकत्वमा रहेको थियो । साहित्यमा लोकप्रिय विधा हुँदाहुँदै पनि पछिल्लो समय कथा लेखनप्रतिको आकर्षणमा देखिएको कमीले गर्दा बाह्रखरीले विश्वव्यापी कथा प्रतियोगिताको आयोजनालाई महत्त्व दिँदै आएको हो । यस प्रतियोगितामा अग्रजदेखि समकालीन तथा युवापुस्ता समेतका कथाकारको सहभागिता रहने गरेको छ । नेपाली साहित्यको क्षेत्रले यसलाई ‘सेलिब्रेसन’ का रुपमा लिएका छन् । पूर्वप्रधानन्यायाधीश श्रेष्ठले नेपाली समाजको व्यथा, वेदना र विद्रोह बोल्ने कथा लेखन प्रतियोगिता आफैँमा सेलिब्रेसन गर्न लायक भएको उल्लेख गरे । ‘कथा व्यावहारिक विधा हो । छोटो समयमा सानो आँखी झ्यालबाट ठूलो समाज र यथार्थ हेर्न सकिने यो विधालाई बाह्रखरी मिडियाले संरक्षण र संवर्द्धन गर्दै आएको छ, यो सराहनीय पक्ष हो,’ पूर्वप्रधानन्यायाधीश श्रेष्ठले भने, ‘नेपाली साहित्यको विश्वमा स्थान कहाँ छ भन्ने कुरा आउँछ । यो संग्रहलाई विश्वका विभिन्न भाषामा अनुवाद गरेर नेपाली साहित्यको बजारीकरण गर्न सकिन्छ ।’ गैरआख्यान पेट पाल्ने माध्यम मात्र भएको भन्दै उनले समाज बुझ्ने र चेतना जगाउने आख्यान विधालाई सशक्त बनाएर लैजानुपर्नेमा जोड दिए ।