निजी विद्यालयहरू विदेश पठाउने कच्चा पदार्थ उत्पादक बनेको सांसद् रामकुमार राई ‘पासाङ’ले बताएका छन् । मंगलबार ‘शैक्षिक आँखीझ्याल : विचारी राजनसुर राई’ नामक पुस्तकको विमोचन समारोहलाई सम्बोधन गर्दै निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरू धेरैजसो ठुला भनिएका मुलुकहरू जाने गरेको उनको भनाइ छ ।
विशेषगरी अमेरिका, बेलायत, क्यानडा जस्ता मुलुकमा जनशक्ति जाने ‘कच्चा पदार्थ’ निजी विद्यालयले उत्पादन गर्ने गरेको उनले बताए । ‘मेरो मूल्याङ्कनमा विदेश जाने कच्चा पदार्थ प्राभेट स्कूलहरूले उत्पादन गरिरहेका छन् । विशेषगरी अमेरिका, बेलायत जस्ता देशमा गइरहेका छन्’, उनले भने, ‘नेपालमै बसेर निजामति सेवा, सेना, प्रहरी तथा सामाजिक कार्य लगायतका काम गर्नेहरू धेरैजसो सामुदायिक विद्यालयका विद्यार्थीहरू देख्छु ।’
नेपालमै बसेर विभिन्न सेवामा सामुदायिक विद्यालयका विद्यार्थीहरूको सङ्ख्या बढी भएपनि गुणस्तर भने सुधार गर्नुपर्ने उनको भनाइ छ । उनले गुणस्तर सुधारका लागि विशेष छलफल गर्न आग्रह गरे । आफू त्यसका लागि सधैँ तयार रहेको बताए ।
सुधार गर्ने विषयमा शिक्षा समिति जस्ता सरोकारवाला निकायमा आफूले कुरा उठाउने गरेको उनले उल्लेख गरे ।
‘सरकारकी स्कुलहरूको सुधार गर्नैपर्ने देखिएको छ’, उनले भने, ‘कहाँनेर कमजोरी भएको छ ? हामी राजनीतिकर्मीको कमजोरी भयो कि, अभिभावकहरूको पो कमजोरी छ कि ? कहाँ कमजोरी छ त्यो अध्ययन गर्नुपर्यो ।’
सांसद् राईले मुलुकमा द्वेध किसिमको शिक्षा रहेकाप्रति पनि असन्तुष्टि जनाए । उनले सामुदायिक विद्याहरू गरिबका छोराछोरी मात्र पढ्ने र निजी विद्यालयहरू धनीका छोराछोरीका लागि भएको जस्तो देखिएको बताए ।
सांसद् राईले आफू अध्ययन गरेको साकेला मावि, खोटाङको गुणस्तर सुधारमा स्थानीय र भूतपूर्व विद्यार्थीहरूको चासो हुनुपर्ने पनि बताए । आफै पनि त्यस विद्यालयको उत्पादन भएकाले सुधारका लागि आफूले सक्ने पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।