किराँत समुदायको  महत्त्वपूर्ण चाड उधौली देशभर हर्षोल्लासका साथ आज मनाइँदै

हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनदेखि सुरू हुने उधौली चाड मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली भित्र्याइएको खुशियालीमा प्रकृति पुजारी किराँत समुदायको  महत्त्वपूर्ण चाड उधौली देशभर हर्षोल्लासका साथ आज मनाइँदै छ।

किराँत राईहरुको दोस्रो महान् चाड उधौलीमा अन्नबाली भित्र्याउनुअघि प्रकृति र पितृको पूजा गर्ने चलन रहेको छ। यस चाडमा किराँतीहरु एकापसमा भेला भएर सङ्गठितरुपमा चाड मनाउने र शुभकामना आदनप्रदान गर्ने गर्छन्।

किराँतको धार्मिक पुस्तक मुन्धुमअनुसार समयलाई दुई भागमा बाँडेको छ, उधौली र उभौली। खेतीकिसानीका आधारमा यी दुई समय बाँडिएको किराँत समुदायको बुझाइ छ।

किराँत समुदायका मूलतः राई, लिम्बू, सुनुवार र याख्खाहरूले उधौली पर्व परम्परागत वेशभूषा लगाई सार्वजनिक स्थलमा भेला भएर सामूहिक रूपमा साकेला नृत्य गर्दै विविध कार्यक्रम गर्दै मनाउने गर्दछन्।

SHARE