ललितपुरमा जर्मन नागरिकको लडेर मृत्यु

१५ माघ, काठमाडौं । ललितपुर महानगरपालिका–१६, नागबहालमा मृत अवस्थामा भेटिएकी जर्मन नागरिकको लडेर मृत्यु भएको आशंका गरिएको छ ।

घटनास्थलको प्रारम्भिक जाँच र फरेन्सिक विज्ञहरुसँगको छलफलपछि प्रहरीले जर्मन नागरिक एडिल एचिडको लडेर मृत्यु भएको हुनसक्ने आशंका गरिएको हो ।यद्यपि, मृत्युको आधिकारिक कारण भने पोष्टमार्टम रिपोर्ट आएपछि खुल्नेछ ।

‘विदेशी नागरिकको हकमा पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल नै पठाउने गरेका छौं, अन्यको पाटन अस्पताल नै जाँच हुने गरेको थियो’, उनले भने ।बिहान ८ बजेतिर ग्रिनतारा हेरिटेज होम एण्ड अपार्टमेन्टको दोस्रो तलामा उनी मृत भेटिएपछि प्रहरी टोली पुगेको थियो ।

                                                                                                                                अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, बिहान ८ बजेतिर जति पानी तान्दा पनि ट्यांकी नभरिएको भन्दै अपार्टमेन्टकी हाउस किपर सञ्चालकसमक्ष पुगेकी थिइन् ।

‘बिग्रियो कि क्या हो भनेर माथि हेर्न जाँदा दोस्रो तलाबाट पानी चुहिइरहेको रहेछ’, अपार्टमेन्ट सञ्चालकले प्रहरीसँग बयान दिँदै भनेका छन्, ‘त्यहीबेला मृतक महिलाको कोठाबाट पानी आइरहेको देखिएपछि ढक्ढक्याउँदा नखुलेपछि अर्को चाबीले कोठा खोलिएको थियो ।’

त्यसक्रममा उनी लडिरहेको अवस्थामा मृत फेला पारिएको थियो भने धारा खुला थियो । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, त्यसपछि अपार्टमेन्टबाट प्रहरी कन्ट्रोलको टेलिफोन नम्बर १०० मा खबर पुगेको थियो ।

मृतक महिलाको शव एउटा कुर्सी नजिकै फेला परेको थियो । ‘रिभल्विङ चेयर नजिकै उहाँको शव भेटिएको हो, कुर्सी ढलिरहेको अवस्थामा थियो’, एक अधिकृतले भने, ‘नजिकै ग्रानाइडको किचनको टेबल जस्तो पनि छ, कुर्सीमा चढेर माथिबाट केही निकाल्न खोज्दा चिप्लिएको हुनसक्ने वस्तुस्थितिले देखाएको छ ।’

प्रहरीले घटनास्थलमा केनाइन शाखाबाट तालिम प्राप्त कुकुर पनि लगेको थियो । यद्यपि, कुकुरले कुनै संकेत गरेन । ‘थप अब पोष्टमार्टम रिपोर्ट आएपछि मात्र भन्न सकिएला’, एक अनुसन्धान अधिकृतले भने ।

SHARE