दक्षिण अफ्रिकाविरुद्ध न्युजिल्यान्डको गतिलो सुरुआत

दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्ट क्रिकेटको पहिलो दिन आइतबार घरेलु टोली न्युजिल्यान्डले आफ्नो पहिलो पालीमा दुई विकेट गुमाएर दुई सय ५८ रन बनाएको छ । पहिलो दिन ८६ ओभर खेल भएको थियो ।टस हारी पहिले ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डका लागि केन विलियम्सन र रचिन रविन्द्रले उत्कृष्ट ब्याटिङ गरे ।

यी दुवै ब्याट्सम्यान शतक बनाउँदै क्रिजमा छन् । केवल ३९ रनमा दुवै ओपनर ब्याट्सम्यानलाई गुमाएको न्युजिल्यान्डको स्कोरलाई त्यसपछि विलियम्सन र रचिनले नै अगाडि बढाएका थिए ।पहिलो दिनको खेल सकिँदा विलियम्सन अविजित एक सय १२ र रचिन अविजित एक सय १८ रन बनाउँदै क्रिजमा छन् । तेस्रो नम्बरमा क्रिज समाल्न आएका विलियम्सनले दुई सय ५९ बलको सामना गरी १५ चौका हिर्काएका छन् । ३३ वर्षीय विलियम्सनले टेस्ट क्रिकेटमा बनाएको यो ३०औँ शतक हो ।

टेस्ट क्रिकेटमा उनले बनाएको उच्च स्कोर भने दुई सय ५१ रन हो ।यसैगरी चौथो नम्बरका ब्याट्सम्यान रचिनले पनि दुई सय ११ बलको सामना गरी एक छक्का र १३ वटा चौका हिर्काएका छन् । २४ वर्षीय युवा खेलाडी रचिनले भने टेस्ट क्रिकेटमा बनाएको यो पहिलो शतक हो । यसअघि टेस्ट क्रिकेटमा उनको उच्च स्कोर अविजित १८ रन थियो ।

त्यसअघि न्युजिल्यान्डका ओपनर टम लाथम २० र डेभोन कनवे एक रन बनाउँदै पेभेलियन फर्किएका थिए । पहिलो दिन न्युजिल्यान्डले सात रन अतिरिक्त रुपमा पाएको छ । दक्षिण अफ्रिकाका बलर सेपो मोरेकी र डेन प्याटरसनले एक–एक विकेट लिए । न्युजिल्यान्ड भ्रमणमा रहेको दक्षिण अफ्रिकाले घरेलु टोलीसँग दुईवटा टेस्ट खेल्ने कार्यक्रम छ ।

SHARE