माघे सङ्क्रान्ति : स्नान, स्वाद र स्वास्थ्यसँग जोडिएको जीवनशैलीको पर्व

काठमाडौं । आज देशभर मकर अर्थात् (माघे) सङ्क्रान्ति पर्व हर्षोल्लासका साथ मनाइँदैछ। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने यस दिनलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ। आजकै दिनदेखि सूर्य उत्तरायण हुने भएकाले दिन क्रमशः लामो र रात छोटिँदै जान्छन्। यही खगोलीय परिवर्तनसँगै (माघे) सङ्क्रान्ति नेपाली समाजमा जीवनशैली, स्वास्थ्य र अध्यात्मसँग जोडिएको विशेष पर्वका रूपमा स्थापित छ।

माघ १ गते उत्तरायण सुरु हुने भएकाले आजको दिन स्नान, जप, तप, ध्यान, व्रत र दानलाई विशेष पुण्यदायी मानिन्छ। यही विश्वासका कारण देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी लगायतका तीर्थस्थलमा बिहानैदेखि माघ स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ। यी स्थानमा आज विशेष मेलासमेत लाग्ने गर्दछ।

तराई क्षेत्रमा (माघे) सङ्क्रान्तिलाई ‘नहान’ अर्थात् नुहाउने पर्वका रूपमा मनाइन्छ। वर्षभर नियमित स्नानको सुविधा नहुने ठाउँका बासिन्दाले पनि आज अनिवार्य रूपमा स्नान गर्नुपर्ने धार्मिक र सांस्कृतिक मान्यता राख्छन्। बिहानै तीर्थस्थलमा गई स्नान गरी तिल दान गर्नाले सुन दान गरे सरह पुण्य प्राप्त हुने विश्वास समाजमा गहिरो रूपमा बसिआएको छ।

धर्मशास्त्रविद्हरूका अनुसार माघ १ मा घ्यू, चाकु, तिलका परिकार ग्रहण नगर्ने, स्नान–दान नगर्ने र ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख धर्मसिन्धुमा पाइन्छ। यही कारण माघे सकराती खानपान र स्वास्थ्यसँग पनि उत्तिकै जोडिएको पर्व हो।

आजको दिन घरघरमा घ्यू, चाकु, तिलको लड्डु, तरुल, सखरखण्ड, पिँडालु, पालुङ्गो र खिचडी जस्ता परिकार बनाइन्छन्। चिसो मौसममा यी तातो परिकारले शरीरलाई न्यानो दिने मात्र होइन, आयुर्वेद अनुसार त्रिदोष नाश गरी स्वास्थ्य सुदृढ बनाउने विश्वास छ। पुसको अन्तिम दिन पकाएर राखिएको तरुल माघमा खाने चलनले ‘पुसमा पाके, माघमा जाके’ भन्ने उखानसमेत जन्माएको छ।

आज तिलको तेलले शरीर मालिस गर्ने चलन पनि छ। आयुर्वेद शास्त्रअनुसार यसले शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई बलियो बनाउने तथा दूषित पदार्थ बाहिर निकाल्न सहयोग गर्ने विश्वास गरिएको छ।
सूर्य उत्तरायणपछि हुने मृत्युलाई उत्तम मानिन्छ। महाभारतमा भीष्म पितामहले सूर्य उत्तरायण भएपछि मात्रै शरीर त्यागेको कथाले पनि यस दिनको धार्मिक महत्व झन् गहिरो बनाएको छ। माघ महिनाभर चल्ने माघमाहात्म्य र श्री स्वस्थानी व्रतकथाले धार्मिक जीवनशैलीलाई निरन्तरता दिन्छ।

यसै अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आज राष्ट्रिय कृषि जैविक विविधता दिवस पनि मनाउँदैछ। माघ १ मा कन्दमूलको सेवन गर्ने परम्परालाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो।