माझी समुदायले गाउँमै पाए स्वास्थ्य सेवा

स्याङ्जाको चापाकोट नगरपालिका–८ खोरियाघाटका माझी समुदायले गाउँमै निःशुल्क स्वास्थ्य सेवा पाएका छन् ।  नेपाल प्रहरी श्रीमती सङ्घ गण्डकी प्रदेश पोखराको आयोजना तथा गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराको प्राविधिक सहयोग र इलाका प्रहरी कार्यालय चापाकोट समन्वयमा शिविर सञ्चालन गरिएको हो ।

शिविरमा ८२ जना बिरामीको स्वास्थ्य परीक्षण गरिएको छ । जसमध्ये ६४ जना महिला छन् । अस्पतालसम्म पहुँच नपुगेका ग्रामीण बस्तीका नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइएको चापाकोट नगरपालिका उपप्रमुख इसा रानाले जानकारी दिनुभयो ।माझी बस्तीमा पुगेका विशेषज्ञ चिकित्सकले स्थानीयको नाक, कान, घाँटी, आँखा, मुटु, दम, दाँत र हार्डजोर्नीसम्बन्धी स्वास्थ्य परीक्षण गरिएको थियो ।

शिविरमा माझी महिलाको विभिन्न समस्याको बारेमा परामर्श दिइनुको साथै परीक्षण गरिएको नेपाल प्रहरी श्रीमती सङ्घ गण्डकी प्रदेशका अध्यक्ष कमला खनालले जानकारी दिनुभयो । सङ्घले स्थानीय विपन्न परिवारलाई कपडा समेत वितरण गरेको छ ।

SHARE