ताइवानमा शक्तिशाली भूकम्प जादा १ मृत्यु ,५० हजार जना घाइते

ताइवानमा भूकम्पबाट केही भवनहरु भत्किएका छन् । तर मानिसहरु कति हताहती भए भन्ने विवरण आउन बाँकी छ । प्रारम्भिक रिपोर्टअनुसार एक जनाको मृत्यु भएको छ भने५०  हजार जना घाइते भएका छन् ।सामाजिक सन्जालहरुमा सेयर गरिएका फोटो र भिडियोहरुमा बहुतले बिल्डिङहरु भत्किएको र पहाडी इलाकामा पहिरो गएको देखिन्छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले पनि तिनै फोटो र भिडियोहरुलाई प्रयोग गरी प्राथमिकताका साथ सामाचार प्रकाशित गरेका छन् ।

बुधबार बिहान ताइवानको हुआलियन शहरबाट करिब १८ किलोमिटर दक्षिणतर्फ केन्द्रविन्दु भएर ७.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।त्यसपछि पनि भूकम्पका ठूला झड्का महसुस भएका थिए । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार ७.४ म्याग्निच्युडको भूकम्पपछि ६.५ म्याग्निच्युडको अर्को ठूलो धक्का महसुस भएको थियो ।

सुरुको धक्काबाट कमजोर भएका संरचनाहरु अर्को शक्तिशाली धक्काका कारण भत्किएको अनुमान छ । भूकम्पलगत्तै विद्युत आपूर्ति बन्द भएको थियो ।ताइवानमा आएको भूकम्प पछि छिमेकी देश जापानमा सुनामीको चेतावनी दिइएको छ । जापानको मौसम विज्ञान विभागले मियाकोजिमा र ओकिनावा द्वीपमा सुनामी आउने चेतावनी दिएको हो । समुद्रको छाल तीन मिटर माथिसम्म उठ्नसक्ने भन्दै सतर्कता अपनाउन भनिएको छ ।

फिलिपिन्सको भूकम्प मापन निकायले पनि सूनामीको चेतावी जारी गरेको छ ।बीबीसीका अनुसार ताइवानमा २५ वर्षपछि यति शक्तिशाली भूकम्प आएको हो । यसअघि सन् १९९९ मा ७.६ म्याग्निच्युडको भूकम्प आएको थियो । त्यति बेला दुई हजारभन्दा बढी मानिसको ज्यान गएको थियो ।

स्थानीय मिडियाहरुले भत्किएका आवासीय भवन र विद्यालयहरुबाट मानिसहरुलाई उद्धार गरिरहेको भिडियो प्रसारण गरिरहेका छन् । स्थानीय प्रसारक टिभिबिएसले गाडीहरुमा पनि क्षति पुगेको र पसलभित्रका सामानहरु छरपस्ट भएको फोटो भिडियो प्रसारण गरिरहेको छ । मानिसहरु खुला स्थानमा गएर बसेको पनि देखिन्छ ।

ताइवानका मिडियाहरुका अनुवार भूकम्पले बिजुलीका तार र पावर प्लान्टमा क्षति पुगेको छ । त्यसैले ताइवानका ९१ हजार भन्दा बढी घरमा विद्युत आपूर्ति बन्द भएको छ ।ताइवान केन्द्रविन्दु भएको भूकम्पबाट जापानको ओकिनावा प्रान्तमा पनि क्षति पुगेको छ । त्यहाँका सडकहरु भासिएका छन् । ओकिनावामा आउ–जाउ गर्ने हवाई उडानहरु स्थगित भएका छन् ।

 

SHARE