काठमाडौं उपत्यकामा बाढी-पहिरोको कहरले २३ जनाको मृत्यु

काठमाडौं उपत्यकामा बाढी-पहिरोको कहरले २३ जनाको मृत्यु भएको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी विनोद घिमिरेका अनुसार शनिबार दिउँसो साढे १ बजेसम्म २३ जनाको मृत्यु भएको छ।

काठमाडौंमा मात्रै ९ जनाको मृत्यु भएको छ। त्यस्तै ललितपुरमा पनि ९ जना र भक्तपुरमा ५ जना गरी २३ जनाको मृत्यु भएको हो। भक्तपुरमा पछिल्लो समय थप दुई जनाको मृत्यु भएको एसएसपी घिमिरेले बताए।

काठमाडौंमा ८ जना र भक्तपुरमा एक जना घाइते छन्। त्यस्तै, काठमाडौंमा ४२० जना, ललितपुरमा २८१ जना, भक्तपुरमा २७ जना गरी जम्मा ७२८ जनाको उद्धार भएको छ।

त्‍यस्तै, काठमाडौंमा एक जना र भक्तपुरमा ४ जना बेपत्ता छन्। काठमाडौंमा चार वटा घर र भक्तपुरमा एक घरमा क्षति भएको छ। काठमाडौंका २२६ वटा घर डुबानमा छन् भने ललितपुर र भक्तपुरका धेरैजसो घरमा पानी पसेको छ।

नेपाल प्रहरी एसएसपीको कमाण्‍डमा ३ हजार ६० जनाको टोली काठमाडौंमा खटिएको छ। त्यस्तै, ललिपुरमा पनि एसएसपीकै कमाण्डमा ९०० जना र भक्तपुरमा एसपीको कमाण्डमा १२० जनाको टोली खटिएको छ।

त्यसैगरी, विपद व्यवस्थापन महाशाखा सामाखुसीबाट ठूलो संख्यामा जनशक्ति परिचालन भएको छ। सशस्त्र प्रहरी बल र नेपाली सेनाको पनि ठूलो संख्यामा उद्धारकर्मी खटिएका छन्।

SHARE