हलेसीमा तीन घर जल्दा एक करोड बढीको क्षति

खोटाङको हलेसी बजारमा आइतबार साँझ आगलागी हुँदा तीन घर जलेका छन् । बजारमा रहेको पदम राईको भान्छा कोठाबाट सल्किएको आगो अन्य दुई घरमा पनि सरेको हो ।

आगलागीबाट दुई घर पूर्ण रूपमा जलेका छन् भने अर्को घरमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ ।

सुक्खाग्रस्त हलेसीमा पानीको अभाव हुँदा आगलागी समयमै नियन्त्रण गर्न नसकिएको हो । प्रहरीका अनुसार करिब ६ बजे लागेको आगो ११ बजेतिर मात्र नियन्त्रणमा आएको थियो । स्थानीयवासी र सुरक्षा निकायको संयुक्त प्रयासमा आगो नियन्त्रण गरिएको थियो ।

आगलागीबाट स्थानीय पदम राईको घर तथा घरमा सञ्चालित हार्डवेयर पसल, निर्धन उत्थान लघुवित्तको कार्यालय, आइराज राई र प्रकाशचन्द्र गिरीको घरमा क्षति पुगेको छ ।

आगो निभाउन जिल्लाबाट तीनवटै सुरक्षा निकायका टोली हलेसी पुगेको थियो।

पदम राईको घरमा बेलुकाको खाना पकाउने क्रममा ग्यास सिलिण्डर लिक भएर सुरु भएको आगो दमकल अभावमा तत्कालै निभाउन नसक्दा ठूलो क्षति भएको स्थानीयको भनाइ छ ।

SHARE