वातावरण प्रदूषण नियन्त्रण गर्न सातामा दुई दिन बिदा प्रस्ताव

नेपालको वायु प्रदूषण विन्दु ‘खतराजनक’ विन्दुमा पुगेपछि नियन्त्रणका लागि सातामा दुई दिन बिदा गर्न प्रस्ताव गरिएको छ ।

वन तथा वातावरण मन्त्रालयले सातामा दुई दिन बिदाको प्रस्ताव गरेको हो।

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले वातावरण प्रदूषण बढेपछि विज्ञहरूलाई बोलाएर बिहीबार छलफल गरेका थिए।

वन मन्त्रालयका सचिव दीपक खरालले सातामा दुई दिन बिदा र सवारी जोर–बिजोर गरेर चलाउनुपर्ने सम्मको स्थिति हुन सक्ने बताएका थिए।

विज्ञहरूले प्रदूषणको प्रमुख कारण सवारी साधनबाट निस्कने धुवाँ रहेको दाबी गर्दै केही दिन चाप कम गर्नुपर्ने सुझाव दिएका थिए।

वातावरणविज्ञ भूषण तुलाधरले वायु गुणस्तर योजना बनाउनुपर्ने बताए।

विश्वभरिको वायु प्रदूषणको अवस्था मापन गर्ने वर्ल्ड एक्यूआई र्‍याङ्किङका अनुसार नेपालको वायु विश्वकै अस्वस्थकर सूचीको अग्रस्थानमा छ ।

वर्ल्ड एक्यूआई र्‍याङ्किङ अनुसार ०–५० सम्म स्वस्थकर, ५१–१०० सम्म मध्यम जोखिम, १०१–१५० सम्म फोक्सोका विरामी, जेष्ठ नागरिक र बालबालिकाहरूका लागि  हानिकारक र सबै समूहका लागि १५१–२०० सम्म अस्वस्थकर, २०१–३०० सम्म धेरै अस्वस्थकर र सो भन्दा माथि खतराजनक मानिन्छ ।

विश्वका सबभन्दा बढी प्रदूषित देशको सातौँ स्थानमा रहेको नेपालको राजधानी काठमाडौंको हाल एक्यूआई ३०५ विन्दुमा रहेको छ ।

वायु प्रदूषणले मुटु, रक्तनली, फोक्सो, मस्तिष्क, आँखा, नाक, कान र घाँटी लगायतका अंगहरूमा गम्भीर असर पार्दछ । साथै, दम, क्यान्सर जस्ता नसर्ने तथा दीर्घ रोगहरूको जोखिम समेत बढाउँछ ।

SHARE