अब रवि लामिछाने उक्सिन गाह्रो छ : राज्यमन्त्री तामाङ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अब पहिलेको अवस्थामा पुग्न गाह्रो हुने ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले बताएका छन् । शनिबार राजधानीमा तामाङ पत्रकार संघको ७औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै थोरै कुरामा चुक्दा लामिछाने अहिलेको अवस्थामा पुग्नुपरेको उनले बताएका हुन् ।

‘पत्रकार साथीहरू धेरै चनाखो हुनुपर्छ, ख्याल गर्नुपर्छ’, राज्यमन्त्री तामाङले भने, ‘सानो कुरा ख्याल नगर्दा पहिले पत्रकार रहनुभएका रवि लामिछाने अहिले कस्तो अवस्थामा हुनुहुन्छ ? उहाँ अब उक्सिन गाह्रो छ ।’

कुनै बेला सानो कुराको ख्याल नगर्दा ‘फस्ने’ अवस्था हुने भन्दै पत्रकार सधैँ चनाखो हुनुपर्ने उनको भनाइ छ । उनले तामाङ पत्रकारलगायत सबै पत्रकारले त्यस्ता विषयमा सचेत भएर पत्रकारिता गर्नुपर्ने बताए ।

उनले रवि लामिछानेले पनि सानो कुरामा ध्यान नदिँदा कानुनको दायरामा आउनु परेको सङ्केत गरेका हुन् ।

पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने राजनीतिमा आउनुअघि पत्रकारिता पेसामा थिए । उनी विभिन्न टेलिभिजन हुँदै ‘ग्यालेक्सी फोर के’ नामक टेलिभिजनमा एमडी भएरसमेत काम गरेका थिए । सोही टेलिभिजनमा हुँदा उनले कानुनविपरीत सहकारीबाट लिएको अभियोग लगाइएको छ । उनको सो मुद्दा अदालतमा चलिरहेको छ ।

यसैगरी राज्यमन्त्री तामाङले सरकार गरिबहरूको घरमा बिजुली बत्ती बाल्न तत्पर रहेको उल्लेख गरे । काभ्रेको एक गाउँका केही गरिब परिवारहरूले बत्ती बाल्न गरिबीकै कारण नसकेको आफूलाई डेलिगेसन आएको भन्दै उनले त्यहाँ राज्यले बत्तीको व्यवस्था गर्ने प्रतिवद्धता जनाए ।

SHARE