दीपक मनाङेले लिए भौतिक पूर्वाधार मन्त्रीको शपथ

गण्डकी प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री राजीव गुरूङ ‘दीपक मनाङ’ ले पद तथा गोपनीयताको शपथ लिएका छन्।उनलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले सोमबार शपथ खुवाएका हुन्।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार मन्त्री नियुक्त गरेका थिए। योसहित मनाङे चौथो पटक प्रदेश मन्त्री बनेका हुन्। उनलाई गण्डकीका पहिलो मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले दुईपटक खेलकुदमन्त्री नियुक्त गरेका थिए। त्यसपछि कृष्णचन्द्र नेपालीले पनि मनाङेलाई खेलकुद मन्त्री नियुक्त गरेका थिए। सोमबार मन्त्री नियुक्त भएसँगै गण्डकी प्रदेशमा हालसम्म बनेका सबै सरकारमा मनाङे मन्त्री बन्न सफल भएका छन्।

मनाङबाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएर सर्वसम्मत निर्वाचित भएपछि मनाङे नेकपा एकीकृत समाजवादी पार्टी प्रवेश गरेका थिए।उनले आइतबार मात्र आफूलाई स्वतन्त्र सांसदको हैसियत प्रदान गर्न संसद सचिवालय गण्डकीमा निवेदन दिएका थिए।

संघीय सरकारमा एमाले–माओवादी गठबन्धन बनेपछि कांग्रेस नेता पाण्डेको नेतृत्वमा रहेको प्रदेश सरकार अल्पमतमा छ। मुख्यमन्त्री पाण्डेले बहुमत पुर्‍याउन सांसद मनाङे, माओवादी केन्द्रको चुनाव चिन्हबाट जितेका नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटा र राप्रपाको समर्थन खोजेका छन्।

मुख्यमन्त्री पाण्डेले सांसद मनाङे, देवकोटा र राप्रपाका २ सांसदको समर्थन पाउँदा बहुमत पुर्‍याउन सक्छन्। गण्डकी प्रदेश सभामा कांग्रेसको २७, एमालेको २२, माओवादी केन्द्रको सभामुखसहित ८, राप्रपाको २ स्वतन्त्र चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरेका मनाङे गरी ६० जना सदस्य छन्। गण्डकीमा सरकार बनाउन कम्तीमा ३१ सांसदको समर्थन चाहिन्छ।

SHARE