जेनजी आन्दोलन : मृत्यु संख्या ७३ पुग्दा ६ जनाको शव हेलिकप्टरमार्फत उपत्यका बाहिर पठाइयो

काठमाडौँ — भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा ज्यान गुमाएका मध्ये ६ जनाको शव मंगलबार हेलिकप्टरमार्फत उपत्यका बाहिर पठाइएको छ। शिक्षण अस्पतालमा पोष्टमार्टमपछि शवलाई परिवारका लागि गृहजिल्ला पठाइएको उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालले जानकारी दिए।

खनालका अनुसार उदयपुरमा दुई जना र धनकुटा, सङ्खुवासभा, सिरहा र सुनसरीमा १÷१ जनाको शव पठाइएको हो। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निःशुल्क रूपमा शव पठाउने निर्णय गरेको थियो।

प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार आन्दोलनमा ज्यान गुमाउनेको संख्या हालसम्म ७३ पुगेको छ। तीमध्ये प्रहरीका असई मिलन राय, सहायक हवलदार अमृत गुरुङ र जवान उत्तम थापा गरी ३ जनाको मृत्यु भएको छ। बाँकी मृतक प्रदर्शनकारीहरू हुन्।

नयाँ बानेश्वर क्षेत्रमा मात्रै प्रहरीले चलाएको गोली लागेर घटनास्थलमै र उपचारका क्रममा २१ जनाले ज्यान गुमाएका थिए। उनीहरूमा बुद्धिबहादुर तामाङ, सन्तोष बिक, सुलभराज श्रेष्ठ, श्रीयम चौलागाईं, ईस्वत अधिकारी, आयुष थापा मगर, सौरभ जोशी, योगबहादुर श्रेष्ठ, माधव सारुमगर, बिमल बाबु भट्ट, असहाव आलम ठकुराई, शौरन किशोर श्रेष्ठ, सुवास कुमार बोहरा, रसिक खतिवडा, विनोद महर्जन, दिल नारायण तामाङ, योगेन्द्र न्यौपाने, छत्रमान कुथुमी, ओझन बुढा, अविषेक श्रेष्ठ र मोहन सरदार ‘चङ्खे’ रहेका छन्।

 

SHARE