कार र मोटरसाइकल ठोक्किँदा प्रहरीको मृत्यु

मोरङमा कार र मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकलमा सवार प्रहरीको मृत्यु भएको छ ।
मोरङको बेलबारी नगरपालिका–८ चिसाङ पुलनजिक आइतबार साँझ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ । प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–०४४ प ४९९६ नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ०७३४ नम्बरको कार ठोक्किएर साँझ ६ः४० बजेतिर दुर्घटना भएको हो।
दुर्घटनामा परी प्रहरी जवान ३२ वर्षीय चित्रसागर राईको मृत्यु भएको छ। राई मोटरसाइकलमा सवार थिए । संखुवासभाको सिलिचुङ गाउँपालिका–२ घर भएका राई सुनसरीको अस्थायी प्रहरी चौकी नडाहामा कार्यरत थिए ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका राईलाई उद्धार गरी उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल पुर्‍याइएको थियो र अस्पताल ल्याइपुर्‍याउने वित्तिकै चिकित्सकले मृत घोषित गरेका हुन्। शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमै राखिएको छ।
दुर्घटनालगत्तै प्रहरीले कार र चालक मोरङको सुन्दरहरैँचा नगरपालिका–९ का ३० वर्षीय दुलाल मियाँलाई नियन्त्रणमा लिएको छ। दुर्घटनामा परेर दुवै सवारीसाधन क्षतिग्रस्त बनेका छन्।
SHARE