काठमाडौँ । आजदेखि यात्रुबाहक सार्वजनिक गाडीमा रुट परमिट अर्थात् अनुमति खुला गरिएको छ। चाडपर्वको समयमा यात्रुहरूको आवतजावत सहज बनाउन देशभरका सार्वजनिक गाडीलाई रुट नलिई गन्तव्यसम्म जान अनुमति दिइएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए।
यस निर्णयसँगै अब यात्रुबाहक सार्वजनिक सवारीसाधनले विशेष प्रक्रिया पूरा नगरी पनि देशका विभिन्न गन्तव्यसम्म पुग्न सक्नेछन्। तर, सडक संरचना वा बाटोको विशेष प्रकृतिका कारण निषेध गरिएका ठूला वा असुरक्षित गाडीलाई भने सञ्चालनमा प्रतिबन्ध कायमै रहने महासङ्घले स्पष्ट पारेको छ।
खुला गरिएको रुट परमिट आगामी असोज २२ गतेसम्म मात्र लागू हुने जनाएको छ। यस अवधिमा यात्रुहरूलाई अनिवार्य रूपमा टिकट लिएर मात्र यात्रा गर्नुपर्ने प्रावधान रहेको छ।
यातायात आवागमन व्यवस्थित बनाउन सरकारले यसअघि नै खाद्यान्नलगायत अत्यावश्यक वस्तु ढुवानी गर्ने गाडीबाहेकका ठूला ट्रेलरलाई नारायणघाट–काठमाडौँ खण्डमा पूर्णिमासम्म सञ्चालनमा रोक लगाउने निर्णय गरिसकेको छ।
चाडपर्व नजिकिँदै गर्दा गरिएको यो व्यवस्थाले राजधानी तथा प्रमुख नाकाहरूमा यात्रु चाप बढ्ने सम्भावनालाई व्यवस्थापन गर्ने अपेक्षा गरिएको छ।