काठमाडौं । नेकपा (एमाले)ले जेनजी आन्दोलन र त्यसपछिका घटनाक्रमबीच पहिलो पटक सचिवालय बैठक बोलाएको छ। पार्टी सचिवालय बैठक आइतबार दिउँसो १ बजे भक्तपुरको गुण्डुमा बस्ने गरी आह्वान गरिएको एमालेका एक वरिष्ठ पदाधिकारीले जानकारी दिएका छन्।
भदौ २३ गतेको जेनजी आन्दोलन र २४ गतेको हिंसात्मक प्रदर्शनपछि एमाले उच्चस्तरबाट कुनै औपचारिक बैठक बसेको थिएन। २४ गतेकै प्रदर्शनमा प्रदर्शनकारीहरूले च्यासलस्थित एमाले पार्टी कार्यालयमा आगजनी गरेका थिए। त्यतिमात्र नभई, बालकोटस्थित अध्यक्ष केपी शर्मा ओलीको निजी निवासमा समेत तोडफोड र आगजनी भएको थियो।
यिनै घटनाक्रमको चपेटामा परेर तत्कालीन प्रधानमन्त्री ओलीले राजीनामा दिएका थिए। उनी असोज २ गते मात्रै सेनाको सुरक्षा घेराबाट बाहिर आएका थिए।
पार्टी नेतृत्वले आगामी राजनीतिक रणनीति, आन्दोलनपछिको मूल्याङ्कन, संगठनभित्रको एकता र सरकारसँगको सम्बन्धबारे बैठकमा विस्तृत छलफल हुने बताइएको छ।
पार्टी स्रोतका अनुसार सचिवालय बैठकले जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक संकट, ओलीको राजीनामापछि देखिएको शक्ति समीकरण र आगामी पार्टीको भूमिका तय गर्नेछ।
एमालेले प्रदर्शनपछिका नोक्सानी, जनस्तरमा बढ्दो असन्तोष र अन्य दलहरूसँगको सम्भावित सहकार्यबारे समेत गहन छलफल गर्ने तयारी गरेको छ।