धनुषा । दिपावली सँगै मिथिलाञ्चलको धार्मिक राजधानी जनकपुरधाममा छठ पर्वको रौनक सुरु भएको छ। छठ पर्व नजिकिँदै गएपछि जनकपुरधामका गङ्गासागर, धनुषसागर, रत्नसागर, महरासागर, दशरथ तलाउ, दूधमतीघाटलगायत पोखरी तथा घाटहरू स्थानीयको सक्रिय सहभागितामा श्रृङ्गार र सरसफाइ भइरहेको छ।
नीति आयोग मधेस प्रदेशका पूर्व उपाध्यक्ष डा. भोगेन्द्र झाले अनुसार छठ मिथिलाञ्चलको पहिचानसँग जोडिएको पौराणिक, सांस्कृतिक र सामाजिक रूपमा सबैभन्दा महत्वपूर्ण पर्व हो। स्थानीयहरू पोखरी सजाउने, घाट सरसफाइ गर्ने र झिलिमिली बत्ती बाल्ने तयारीमा जुटेका छन्।
यस वर्ष कात्तिक १० गते (सोमबार) षष्ठी तिथिमा मुख्य दिन परेको छ। पण्डित कुशेश्वर उपाध्यायका अनुसार छठ पर्वका तीन मुख्य विधि छन्—पहिलो दिन नहायखाय, दोस्रो दिन खरना, र तेस्रो दिन साँझ अस्ताउँदो सूर्य र बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिने विधि छ।
उपाध्यायका अनुसार, पहिलो दिन बर्तालुले नदी वा पोखरीमा स्नान गरी शुद्ध भई शाकाहारी भोजन ग्रहण गर्छन्। दोस्रो दिन खरना विधिमा बर्तालुले दिनभरि उपवास गरी साँझ माटोको नयाँ चुल्हो र भाँडामा खीर पकाई छठीमातालाई चढाउने गर्छन्। यसलाई परिवारका सदस्यले प्रसादका रूपमा ग्रहण गर्ने चलन छ।
अर्को दिन साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिई रातभर जाग्राम बसिन्छ र भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि व्रत समाप्त हुन्छ। यस क्रममा बर्तालुहरूले सन्तानको सुख, पारिवारिक समृद्धि र रोगमुक्तिको कामना गर्छन्।
पौराणिक मान्यता अनुसार, अत्रि मुनिकी पत्नी अनसुइयाले सर्वप्रथम छठ व्रत गरेकी थिइन्। उनको इच्छा पूरा भएपछि यो पर्वको परम्परा सुरु भएको विश्वास छ।
वैज्ञानिक दृष्टिकोणबाट पनि छठको गहिरो अर्थ रहेको पण्डित अमरकान्त झाले बताए। उनका अनुसार छठको समयमा सूर्य दक्षिणयनमा कन्या राशिमा रहन्छ, जसकारण सूर्यको किरण पृथ्वीमा प्रखर रूपमा पर्ने र यसले मानव शरीरका छालासम्बन्धी रोग निको पार्ने विश्वास रहेको छ।
छठ पर्वका मुख्य प्रसादमा ठकुवा, भुसवा, केरा, मीठाई, फलफूल, उखु, अदुवा, दियो, घैटो र बाँसका सामग्रीहरू प्रमुख छन्। बजारमा यी सामग्री किन्नेहरूको भीड बढ्दै गएको छ।
राजर्षि जनक विश्वविद्यालयका रजिस्ट्रार सत्यनारायण साहका अनुसार छठ पर्व सूर्य र मानवबीचको प्राकृतिक सम्बन्धको प्रतीक हो। सूर्यबिनाको जीवन असम्भव भएकाले यो पर्वले मानव र प्रकृतिको सहअस्तित्व र कृतज्ञता प्रकट गर्छ।
सुरक्षाका दृष्टिले जिल्ला प्रहरी कार्यालय धनुषाले जनकपुरधाम र वरपरका छठघाटहरूमा विशेष सुरक्षा व्यवस्था मिलाएको छ। प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमका अनुसार, भीड व्यवस्थापन र दुर्घटना रोकथामका लागि थप प्रहरी बल परिचालन गरिनेछ।
छठ पर्व चार दिनसम्म चल्ने यो महापर्वले धार्मिक आस्था मात्र होइन, सामाजिक एकता, स्वास्थ्य, र पर्यावरणीय सन्देश पनि बोकेको जनकपुरका छठ जानकार रोशन जनकपुरीले बताए। उनका अनुसार, सूर्य आराधना अर्थात् छठ पर्व ज्ञान, ऊर्जा र जीवनको प्रतीक भएकाले मिथिलाञ्चलमा यसको सांस्कृतिक धरोहर सधैं उज्यालो रहँदै आएको छ।










