मौन इतिहासको आवाज बनेको ‘रकुना’

काठमाडौं । तामाङ इतिहास, मिथक र सामूहिक चेतनालाई दृश्य-श्रव्य भाषामा उतारिएको सांस्कृतिक कृति ‘रकुना’ सार्वजनिक भएको छ। तामाङ सभ्यताको मौन पहिचान, आध्यात्मिक विश्वास र ऐतिहासिक स्मृतिलाई केन्द्रमा राखेर तयार गरिएको यो कृतिले आफूलाई परम्परागत म्युजिक भिडियो वा फिल्मभन्दा फरक सांस्कृतिक अभिव्यक्तिका रूपमा प्रस्तुत गरेको छ।

“म देखिन्न… तर म हर क्षण छु।”
यही संवादबाट सुरु हुने ‘रकुना’ तामाङ समुदायको अस्तित्व र पहिचानमाथि युगौँदेखि उठ्दै आएका प्रश्नहरूको कलात्मक उत्तर हो। यसमा ‘रकुना’ कुनै शारीरिक पात्र होइन, चेतना, विश्वास र सामूहिक स्मृतिको प्रतीकका रूपमा प्रस्तुत गरिएको छ।
पात्र होइन, चेतना निर्माताका अनुसार ‘रकुना’ तामाङ सांस्कृतिक स्मृतिमा मौन तर शक्तिशाली उपस्थितिको संकेत हो। जब जब तामाङ ह्रिमथिम (पहिचान) कमजोर ठानिन्छ, जब जब इतिहासलाई ओझेल पारिन्छ-तब तब रकुना अनुभूतिको रूपमा उपस्थित हुन्छ।
फिल्ममा रकुनाको स्वर यसरी व्यक्त हुन्छ-“म शरीर होइन… म चेतना हुँ।म विश्वास हुँ… म शक्ति हुँ।म हुँ-रकुना।”
‘रकुना’ परम्परागत कथानकमा आधारित छैन। यहाँ स्पष्ट कथा भन्दा पनि अनुभूति, संकेत र भाव प्रधान छन्। संवाद न्यून छन्, तर दृश्य, संगीत र मौनले दर्शकसँग गहिरो संवाद गर्छ। इतिहास यहाँ पुनःअभिनय होइन, पुनःस्मरणका रूपमा प्रस्तुत गरिएको छ।

रकुनाको भूमिकामा रोहानी लामाको अभिनय शारीरिकभन्दा भावनात्मक छ। उनको मौन उपस्थिति, दृष्टि र चालले रकुनालाई देखिने पात्र होइन, महसुस हुने शक्ति बनाएको छ।

गुरु पात्र र सांस्कृतिक गहिराइ

मरुनी गुरुको भूमिकामा जिल्लाप सिंह लामा (पेमा धार्के लामा) र लामा गुरुका रूपमा जाम्भाला लामाको उपस्थिति फिल्मको अर्को बलियो पक्ष हो। उनीहरू पात्र मात्र होइनन्, मौखिक इतिहास, संस्कार र आध्यात्मिक ज्ञानका प्रतिनिधि हुन्, जसले कृतिलाई सांस्कृतिक गहिराइ प्रदान गर्छ।

सामूहिक अभिनयको प्रभाव

कार्साङ लामा, निर्मला मोक्तान, मालती थोकर, रोशन थिङ, ज्योति तामाङ, जीवन वाइबा, छ्योइसाङ लामा, कुन्साङ लामा, दोर्जे मोक्तानलगायत दर्जनौँ कलाकारको सहभागिताले ‘रकुना’लाई व्यक्तिगत चमकभन्दा सामूहिक चेतनाको प्रस्तुति बनाएको छ। यहाँ स्टारडमभन्दा संस्कृति अगाडि देखिन्छ।

संगीत, निर्देशन र दृश्य भाषा

गीत, संगीत र स्वर कार्साङ लामाको हो। पृष्ठभूमि संगीतले संवादभन्दा गहिरो प्रभाव छोड्छ। पोस्ट प्रोडक्सन पारिजात नेपाल, बौद्धमा गरिएको छ।
प्राचीन तामाङ इतिहासमा आधारित अनुसन्धान र निर्देशन कार्साङ लामा डोङ र विक्रम लामा मोक्तानले गरेका हुन्। छायांकनका लागि गागलफेदी फिल्म रिसोर्ट चयन गरिएको छ, जसले भूमि, प्रकृति र चेतनाबीचको सम्बन्धलाई सशक्त बनाएको छ।

सांस्कृतिक महत्व

‘रकुना’ केवल सांस्कृतिक प्रस्तुति होइन—यो मौन प्रतिरोध हो, पहिचानको शान्त घोषणापत्र हो र इतिहासलाई आफ्नै भाषामा पुनःस्मरण गराउने प्रयास हो।
कृति सकिएपछि पनि यसको अनुभूति दर्शकको मनभित्र गुञ्जिरहन्छ।