काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईं पार्टी परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका छन्। उनलाई कांग्रेस सभापति गगनकुमार थापाले स्वागत गरेका हुन्।
हुमागाईंले केही दिनअघि सात बुँदे असन्तुष्टि सार्वजनिक गर्दै रास्वपा छाडेका थिए। उनले प्रतिनिधिसभा सदस्य उम्मेदवार छनोटमा चरम चलखेल भएको, समर्पित कार्यकर्तालाई पाखा लगाएर चाकडी गर्ने र वरिपरि घुम्नेलाई प्राथमिकता दिएको आरोप लगाएका छन्।
यस्तै, केन्द्रीय संरचना विस्तारमा अपारदर्शिता, सदस्यता तथा आर्थिक व्यवस्थापनमा गम्भीर प्रश्न, विधान उल्लंघन, प्रदेश र तल्लो तहको आवाजको बेवास्ता तथा शीर्ष नेतृत्वमाथि नैतिक प्रश्न उठाउँदै उनले पार्टीको संरचनागत विकृति र निजी स्वार्थ हाबी भएको बताएका छन्।









