सातै प्रदेशमा कला विकास गर्ने नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको योजना  

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले देशको सातै प्रदेशमा कला विकास गर्ने योजना तथा रणनीतिबारे जानकारी गराएको छ ।
मंगलबार प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, उपकुलपति लालकाजी लामा, सदस्य सचिव देवेन्द्र कुमार काफ्ले ‘थुम्केली’ लगायतको सहभागितामा पत्रकार सम्मेलन गर्दै सोबारे जानकारी दिएको हो ।
प्रतिष्ठानमा मंसिर २९ र ३० गते सम्पन्न १५ औं प्राज्ञसभाका निर्णयहरूसँगै ललितकलाको क्षेत्रमा आगामी दिनमा गरिने कार्यक्रमहरूको बारेमा तयार गरिएका रणनीतिक र कार्यक्रमिक धारणा सदस्य सचिव काफ्ले सार्वजनिक गरेका थिए । प्रतिष्ठानका अनुसार कला क्षेत्रको विकास र प्रवर्द्धनका लागि प्रतिष्ठानले तलैदेखि काम सुरू गर्ने योजना बनाएको छ ।
कुलपति हार्तम्छालीले प्रतिष्ठानले संस्थागत संरचना, नीतिगत कार्यक्रम, आर्थिक, प्रशासनिक तहमा दीर्घकालिन महत्व राख्ने कार्यक्रम तथा निर्णयहरू गर्न लागेको जानकारी दिए । स्थानीय, प्रादेशिक तथा केन्द्रमा सबैको सहकार्यबाटै नै यी कार्यहरू सफल हुने उनको विश्वास छ । कला विकासका लागि विशेषत अहिले लोक समुदायबाट नै कलाको खोज, अनुसन्धान, सर्वेक्षण तथा प्रदर्शनीलाई प्रतिष्ठानले जोड दिएको छ ।
ललितकला क्षेत्रको प्राज्ञिक उन्नयनसँगै मौलिकता संरक्षण गर्ने, रोजगारी सिर्जना गर्दै अर्थतन्त्रमा योगदान दिने लक्ष्यानुसार प्रतिष्ठानले कार्य थालनी गरेको सदस्य सचिव काफ्लेले बताए ।
उक्त कार्यक्रममा उपकुलपति लालकाजी लामा, प्राज्ञपरिषद् सदस्यहरू पाल्साङ्मो लामा, प्रदिप अधिकारी, सौरगंगा दर्शनधारी, दिनेश्वर महतो, संजय वान्तवा राई, अरुणा हिङमाङ, प्राज्ञसभा सदस्य वासुदेव श्रेष्ठसँगै विभिन्न सञ्चारमाध्यमका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
प्रेस विज्ञप्ति
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको २९ र ३० मङ्सिरमा बसेको १५औँ प्राज्ञसभाले कलाक्षेत्रको विभिन्न नीतिगत तथा कार्यक्रमिक योजना तय गरेको छ । ‘नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानः अनुसन्धान, सिर्जना र सम्मान’ भावमा रही ललितकला क्षेत्रको रणनीतिक योजनासहित देशका सातै प्रदेशमा विभिन्न कार्यक्रम गर्ने तयारीमा प्रतिष्ठान लागेको छ ।
नेपाली कलाको विकास र संरक्षणमा प्रतिष्ठानले योजनाबद्ध ढङ्गले काम गर्ने नीतिगत तयारीका साथ प्रदेश र पालिका सरकार तथा सरोकारी संघसंस्थासँगको सहकार्यमा जोड दिँदै सकेसम्म छायाँमा परेका कला, स्थान र प्रतिभालाई प्राथमिकता दिएर नेपाली राष्ट्रियपनको रैथाने लोकसमुदायगत संस्कृति र भौगोलिक–प्राकृतिक पर्यावरणको विषयवस्तुलाई उठाउन जोड दिइने छ । त्यसका लागि यस प्रतिष्ठानले विभिन्न कार्यविधि समेत तयार गरेको छ र केही कार्यविधिहरू प्रदेशको थप आधारभूत छलफल तथा तथ्यस्थिति अध्ययनपश्चात् निर्माण गरिनेछन् ।
ललितकला क्षेत्रको प्राज्ञिक उन्नयनसँगै मौलिकता संरक्षण गर्ने, रोजगारी सिर्जना गर्दै अर्थतन्त्रमा योगदान दिने लक्ष्यानुसार प्रतिष्ठानको १० महिने कार्यावधिमा सम्भव भएसम्म राजधानी तथा देशका सातै प्रदेशमा रहेका कलाकार तथा कला संस्थासँग भेटघाट गरी कलाक्षेत्रमा गर्नुपर्ने कार्यका बारेमा छलफलसमेत गरिएको छ । प्रदेशको कामलाई प्रभावकारी र चुस्त बनाउन सातै प्रदेशमा प्रदेश समन्वय समिति बनाइएको छ ।
कलाका विविध सिर्जनात्मक कार्यशाला, प्रशिक्षण लगायतका कार्य गरिएको छ । यसबीचमा राष्ट्रिय ललितकला प्रदर्शनी २०८०, राष्ट्रिय ललितकला सम्मेलन २०८० लगायतका विविध कार्य सम्पन्न गरिएको छ ।
यस्तै, यस आ.व. मा प्रतिष्ठानले रणनीतिक योजनासहित विभिन्न कार्यक्रम गर्न लागेको छ । यसै वर्षदेखि प्रादेशिक प्रदर्शनी सुरु गर्न लागिएको छ । सातै प्रदेशमा रहेका ललितकलाका विविध आयाम र पक्षलाई जोड्दै नेपाली कलामा पुनर्जागरण ल्याउने लक्ष्यानुसार नेपाली कला र कलाकारको सर्वेक्षण गर्ने योजनासमेत रहेको छ ।
राष्ट्रिय ललितकला प्रदर्शनी, तीनवटा प्रदेशमा कलाकार सम्मेलन र कार्यशालारगोष्ठी तथा प्रदर्शनी, केन्द्रका तीनवटै प्रज्ञा–प्रतिष्ठान र प्रदेश÷पालिकाकामा स्थापित प्रतिष्ठानरपरिषद्रसमिति आदिको काठमाडौंमा पुसभित्र भेलालगायतका कार्यक्रम हुनेछन् । साथै प्रदेश र पालिकामा सांस्कृतिक संरचना निर्माणमा सहजीकरण गर्न पहल गर्ने र मर्यादाक्रम सवालमा समेत पहल गरिने छ ।
बढ्दो तापक्रमले हिमालमा पारिरहेको प्रभावको पक्षमा केन्द्रित रहेर ‘हिमालको रहस्य’ विषयमा कला प्रदर्शनी गरिने छ । संविधान र लोकतन्त्रको मूलभावमा रही गणतन्त्रको प्रतीकरस्तम्भको नमुना (म्याकेट)प्रतियोगिता गर्ने तयारी गरिएको छ । महिला, दलित, जनजाति र पछाडि पारिएका वा सुविधाविहीन लगायतका जनसमुदाय आदिको जागरण सम्बन्धी कार्यक्रम, सहिद दिवसको अवसर पारेर कला प्रदर्शनी आदि कार्यक्रम हुने छ ।
राष्ट्रिय ललितकला प्रदर्शनी २०८० मा सिर्जनावृत्ति प्राप्त गरेका कलाकारको नेपाल ललितकला प्रतिष्ठान दिवसको अवसर पारेर बैशाख २ गते प्रदर्शनी गरिने छ । साथै सो अवसरमा तीनवटा प्रज्ञा प्रतिष्ठानको सहकार्यमा कला, साहित्य तथा संगीतका बारेमा सांस्कृतिक विचार गोष्ठी, बहस तथा छलफलसमेत गरिने छ ।
यसैगरी यस वर्षबाट लुम्बिनी प्रदेशको दाङस्थित गढवा गाउँपालिकामा सेरामिक्स हब र वागमती प्रदेशको रामेछापस्थित सुनापति गाउँपालिकामा थाङ्का कला हब बनाउने कार्यलाई अगाडि बढाइएको छ । जसको सम्भाव्यता अध्ययनको कार्य अन्तिम चरणमा पुगेको छ । सम्भव भएसम्म रेनोभेसनरकन्जर्भेसन प्रशिक्षण, सिन्धुली कमलामाईस्थित कलाघर र पर्वत कुश्मास्थित शताब्दीघरसँग मिलेर कलासम्बन्धी कार्यक्रमसमेत गरिने छ ।
प्रतिष्ठानका अनुसन्धान, लेखन तथा प्रकाशन विभाग, कला प्रवद्र्धन विभाग, लोककला विभाग, हस्तकला विभाग, मूर्तिकला विभाग, समसामयिक चित्रकला विभाग, परम्परागत चित्रकला विभाग, वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला विभाग र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्यव विभागका विभागीय कार्यक्रमअन्तर्गत अन्तर्राष्ट्रिय तथा देशैभर कार्यशाला, कला प्रदर्शनी, गोष्ठी, खोज अनुसन्धानका कार्य अगाडि बढाइने छ । खोज अनुसन्धानको कार्यलाई अगाडि बढाउन यसै वर्षदेखि विज्ञसमीक्षित अनुसन्धानमूलक पत्रिका ‘ललितकला प्रज्ञा’ प्रकाशनको कार्य प्रारम्भ गरिएको छ । ललितकला विषयक ‘आकृति’ चौमासिक रुपमा प्रकाशन गर्ने तयारी गरिएको छ ।
किरात वास्तुकलाको खोज, नेपाली अर्थतन्त्रमा ललितकलाको योगदान, प्राज्ञिक खोज अनुसन्धानसम्बन्धी गोष्ठी, अन्तरक्रियारकार्यशालासमेत गरिने छ । नेपाल ललितककला मेला यसै आ.व. देखि थालिने छ । परम्परागत ऐतिहासिक स्थल तथा कला सम्पदाहरूको अध्ययन, अनुसन्धान एवं वृत्तचित्र निर्माण, परम्परागत कला क्षेत्रका कलाकारका जीवनी प्रकाशन, परम्परागत थाङ्का, पौभा कलासम्बन्धी प्रशिक्षण र गोष्ठी तथा प्रदर्शनी कार्यक्रम, परम्परागत कला कार्यशाला एवं पर्यटन विकासका लागि गोष्ठी, हस्तकलासम्बन्धी कलात्मक सारङ्गी, टुङ्गना, मुकुन्डो प्रशिक्षण तथा कार्यशाला, सेरामिक्स प्रशिक्षण, मिथिला क्षेत्रमा लोकचित्रकला र हस्तकलासम्बन्धी कार्यपत्ररप्रशिक्षण तथा प्रदर्शनी, लिम्बू लोकरहस्तकलाका बारेमा गोष्ठी, हिमाली लोककला विषयक गोष्ठी तथा अन्तरक्रिया, खाम कलाको अनुसन्धानलगायतका कामहरू गर्ने तयारी छ ।
आधुनिक तथा समसामयिक कलाकारका कला प्रदर्शनी, चित्रकला कार्यशाला (रसुवा), समावेशी चित्रकला प्रदर्शनी र कार्यशाला, प्रिन्टमेकिङ्ग कार्यशाला, विश्वमा नेपाली समसामयिक चित्रकलाको अवस्था विषयक गोष्ठी, मूर्तिकला कार्यशाला, मूर्तिकला प्रशिक्षण, प्रतिस्थापन कलार पर्फमेन्स कला प्रदर्शनी,अन्तरक्रिया, कार्यपत्र प्रस्तुति, कार्टुन र क्यारिकेचर प्रदर्शनी, सुदूरपश्चिममा कलाफोटोग्राफी प्रदर्शनी, वास्तुकलाको महत्व विषयक कार्यशाला तथा छलफल, कार्टुनिस्ट मोहनश्याम ‘खोकना’ को कार्टुन प्रदर्शनी, वातावरणीय कला लगायतका कार्यक्रमहरू गरिने छ । यसैगरी, प्रतिष्ठानले १५ औँ प्राज्ञसभाबाट निम्न ५ वटा कार्यविधिहरु स्वीकृत गर्दै कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाएको छः
१. राष्ट्रिय ललितकला प्रदर्शनी २०८०
२. प्रादेशिक ललितकला प्रदर्शनी २०८०
३. हलभाडा कार्यविधि २०८०
४. ‘ललितप्रज्ञा’ जर्नल कार्यविधि २०८०
५. ललितकला कलाकार परिचयपत्र वितरण कार्यविधि २०८०
साथै प्राज्ञ सभामार्फत मुख्यतः गत आर्थिक वर्षको प्रगति विवरण, चालु आर्थिक वर्षको कार्यक्रम र बजेट र चालु आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिको प्रगति स्वीकृत गरिएको छ ।
यसैगरी, गण्डकी प्रज्ञा प्रतिष्ठान र सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानसँग ललितकला क्षेत्रको विकास र समृद्धि गर्ने लक्ष्यलाई केन्द्रमा राखेर समझदारी पत्रमा हस्ताक्षर भएको छ । यस्तै काठमाडौं विश्वविद्यालयसँग समेत समझदारी पत्रमा हस्ताक्षर भएको छ । सुदूरपश्चिम विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, जनक राजर्षि विश्वविद्यालयसँग ललितकला विभाग खोल्ने विषयमा पत्राचार गरिएको छ । काठमाडौं महानगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा शिक्षामा सीप कार्यक्रमअन्तर्गत स्केचिङ एण्ड स्क्ल्पचर मोड्युलको तालिम सञ्चालनका लागि समझदारी पत्रमा हस्ताक्षर गरी काम अगाडि बढिसकेको छ।  -सिन्धुपाल्चोककोे पाँचपोखरी थाङ्पाल गाउँपालिकासँगको सहकार्यमा सो गाउँपालिकामा ८४ फिट अग्लो बुद्धमूर्ति निर्माण कार्य यो आर्थिक वर्षमा पनि नियमित भइरहेको छ ।
-१७ फिट अग्लो अरनिको धातुको मूर्ति बनाउने कार्य गतवर्ष नै सम्पन्न भइ जोड्ने काम बाँकी रहेको छ । उचित स्थान पाएमा यसै वर्ष यो कार्य पूरा गरिनेछ । कलाका लागि उचित भौतिक पूर्वाधार र बजेट अभाव तथा नेपाली कला र कलाकारको तथ्यतथ्यांकको अभाव रहे तापनि प्रतिष्ठानले ललितकला क्षेत्रको श्रीबृद्धिका लागि योजनाबद्ध ढंगले काम गरिरहेको छ ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, २०८० पुस ३ गते मङ्गलवार
SHARE