आरसीबी नयाँ लगानीकर्ता समूहलाई बिक्री, १.७८ अर्ब डलरमा सम्झौता

काठमाडौं ।  इन्डियन प्रिमियर लिग (आईपीएल) फ्रेन्चाइज टोली रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) नयाँ लगानीकर्ता समूहले पूर्ण रूपमा खरिद गरेको छ। भारतीय तथा विदेशी व्यवसायिक संस्थाहरू सम्मिलित उक्त समूहले टोली १ अर्ब ७८ करोड अमेरिकी डलरमा किनेको हो।

यसअघि टोलीको स्वामित्वमा रहेको युनाइटेड स्पोर्ट्स लिमिटेडले सम्पूर्ण रकम एकैपटक भुक्तानी हुने गरी बिक्री गरिएको जनाएको छ। अब पुरुष र महिला दुवै टोली नयाँ समूहकै स्वामित्व र व्यवस्थापनमा रहनेछन्।

नयाँ लगानीकर्ता समूहमा आदित्य बिर्ला ग्रूप, द टाइम्स अफ इन्डिया, बोल्ट भेन्चर्स र ब्ल्याकस्टोनजस्ता ठूला संस्थाहरू सहभागी छन्। यो सम्झौता क्रिकेट इतिहासकै महँगोमध्ये एक मानिएको छ। यसअघि सन् २०२१ मा भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले दुई टोली बिक्री गर्दा प्राप्त रकमभन्दा पनि यो बढी भएको बताइएको छ।

नयाँ व्यवस्थापनअन्तर्गत पूर्वखेलाडी आर्यामान बिर्ला अध्यक्ष नियुक्त भएका छन्। उनले टोलीलाई अझ उच्च स्तरमा पुर्‍याउने प्रतिबद्धता जनाएका छन्। बिर्ला सन् २०१८ मा राजस्थान रोयल्सबाट खेलाडीका रूपमा आवद्ध थिए।

यसअघि आरसीबी सन् २००८ मा व्यवसायी विजय माल्याको समूहले खरिद गरेको थियो। पछिल्लो समय टोली खेल र व्यापार दुवै क्षेत्रमा सफल मानिँदै आएको छ।

सम्झौता सम्बन्धित निकायको अन्तिम स्वीकृतिपछि पूर्ण रूपमा कार्यान्वयन.मा आउने जनाइएको छ।