तामाङ चलचित्र क्षेत्रका अग्रणी व्यक्तित्व सन्तलाल घिसिङको असामयिक निधन

चितवन। तामाङ चलचित्र संघका संस्थापक अध्यक्ष तथा तामाङ चलचित्र निर्माता–निर्देशक सन्तलाल घिसिङको असामयिक दुःखद निधन भएको छ। आफ्नै गृह जिल्ला चितवनमा उपचारका क्रममा उहाँको निधन भएको हो।

तामाङ चलचित्रलाई गुणात्मक र सशक्त बनाउने अभियानमा अग्रसर घिसिङले पहिलो पटक तामाङ चलचित्र ‘आक्ताङ राउ’ निर्देशनमार्फत निर्देशन यात्राको सुरुआत गर्नुभएको थियो। उहाँले करिब दुई दर्जनभन्दा बढी तामाङ चलचित्र निर्देशन गर्दै तामाङ भाषा, संस्कृति र पहिचानलाई पर्दामा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्‍याउनुभएको थियो।

उहाँद्वारा निर्देशित ‘मायाला छो’, ‘दुङाल’, ‘च्याङबा’, ‘लानी’ लगायतका चलचित्रहरू दर्शकमाझ अत्यन्त लोकप्रिय तथा हिट बनेका थिए। तामाङ चलचित्र उद्योगको संस्थागत विकास र सृजनात्मक उचाइमा पुर्‍याउन उहाँको योगदान अतुलनीय मानिन्छ।

स्व. सन्तलाल घिसिङको निधनले तामाङ चलचित्र क्षेत्रले अपूरणीय क्षति व्यहोरेको छ। उहाँको मृतात्माप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजन तथा सम्पूर्ण चलचित्रकर्मीमा गहिरो समवेदना व्यक्त गरिएको छ।