दलित समुदायमाथि भएको विभेदका लागि राज्यको तर्फबाट माफी मागे : रवि लामिछाने

काठमाडौँ । रवि लामिछानेले दलित समुदायमाथि राज्यले गर्दै आएको ऐतिहासिक विभेदप्रति प्रतिनिधि सभाको रोष्ट्रमबाट सार्वजनिक रूपमा माफी मागेका छन्। बिहीबार संसद् बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले विगतको अन्याय केवल सामाजिक भूल नभई ‘संगठित अपराध’ भएको उल्लेख गर्दै अब यसको मूल्य न्यायमार्फत सुनिश्चित गरिने बताए।

उनले भने, ‘आजसम्मको विभेद सामाजिक गल्ती थिएन, संगठित अपराध थियो। यो देश किन बनेन भन्ने प्रश्नको उत्तर पनि यही हो—जसका हातमा सीप थियो, उसैलाई हामीले अछुत बनायौँ। अब कुनै पनि नेपाली जातका आधारमा झुक्नुपर्ने अवस्था अन्त्य हुनुपर्छ।’ उनले आफ्नो पार्टीका साथै प्रधानमन्त्री र सरकारको तर्फबाट समेत माफी माग्दै अबको जिम्मेवारी न्याय सुनिश्चित गर्नु भएको स्पष्ट पारे।

सभापति लामिछानेले सांसद खगेन्द्र सुनारको प्रसंग पनि जोड्दै माफी संस्कृतिको महत्त्व औंल्याए। सुनारले चुनावी अभियानका क्रममा आएको विवादपछि छिट्टै माफी मागेको स्मरण गर्दै उनले भने, ‘गल्ती भएको हो कि होइन भन्ने अन्योल हुँदा पनि उहाँले माफी माग्नुभयो। तर खगेन्द्र सुनारजस्ता समुदायमाथि युगौँदेखि भएको अन्यायका लागि हामीले कहिल्यै माफी माग्यौँ?’

लामिछानेले दलित समुदायमाथि सदियौँदेखि हुँदै आएको विभेद, अन्याय र अत्याचारको इतिहासप्रति पहिलोपटक राज्यका तर्फबाट सामूहिक सार्वजनिक क्षमायाचनाको आवश्यकता औंल्याए। उनले सदनमै हात जोड्दै माफी माग्दै भने, ‘यो देशको दलित समुदायसँग राज्यको तर्फबाट आज म सार्वजनिक रूपमा माफी माग्न चाहन्छु।’