काठमाडौँ । चाडपर्वको समयमा सवारी दुर्घटना रोकथामका उद्देश्यले काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) विरुद्ध विशेष अभियान तीव्र पारेको छ।
विगतका वर्षहरूमा चाडपर्वका बेला हुने दुर्घटनाको प्रमुख कारण मापसेलाई ठहर गर्दै यस वर्ष ट्राफिक प्रहरीले बिहानदेखि रातिसम्म उपत्यकाका मुख्य चोक, सडक र गल्लीहरूमा कडाइका साथ जाँच सुरु गरेको हो।
उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीको निर्देशनमा जनपद र ट्राफिक प्रहरी संयुक्त रूपमा फिल्डमा खटिएका छन्। एआईजी कार्कीले भने, “हाम्रो उद्देश्य दण्ड होइन, चेतना हो। नागरिक स्वयं जिम्मेवार बनून् भन्ने सन्देशका साथ हामी सडकमा छौं। चाडपर्व सुरक्षित, मर्यादित र अनुशासित बनोस् भन्ने नै हाम्रो लक्ष्य हो।”
उपत्यका ट्राफिक प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी आफैं टोलीसहित त्रिपुरेश्वर, नयाँ बानेश्वर, कलङ्की, दरबारमार्ग, महाराजगञ्ज, गौशाला, चाबहिल र बल्खु क्षेत्रमा खटिएका थिए। उनले सयौँ सवारीसाधनका चालकहरूको मापसे परीक्षण गर्दै सचेतनामूलक अभियान पनि सञ्चालन गरेका छन्।
एसएसपी अधिकारीले भने, “मापसेको कारणले दुर्घटना नहोस् भन्ने नै हाम्रो प्रमुख उद्देश्य हो। यस वर्ष गत वर्षभन्दा बढी कडाइका साथ निगरानी बढाइएको छ।”
ट्राफिक प्रहरीले ‘मापसे नगरी सवारी चलाऔँ, सुरक्षित यात्रामा सबैको साथ दिऔँ’ भन्ने नारासहित सडक प्रयोगकर्तालाई पर्चा वितरण र माइकिङसमेत गरेको छ।
प्रहरीको भनाइअनुसार, मापसे नियन्त्रणमा नागरिकको सहकार्य अत्यावश्यक छ, र यस वर्षको अभियानलाई “सुरक्षित चाडपर्व २०८२” को रूपमा अघि बढाइएको छ।










