काठमाडौं। इजरायलले लेबनानमा गरेको हालसम्मकै ठूलो हवाई आक्रमणमा २५० भन्दा बढी मानिसको मृत्यु भएको छ। हिज्बुल्लाहसँगको द्वन्द्व सुरु भएयता यो सबैभन्दा घातक आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
रोयटर्सका अनुसार बुधबार गरिएको आक्रमणमा २५४ जनाको ज्यान गएको र १ हजार १०० भन्दा बढी घाइते भएका छन्। लेबनानको स्वास्थ्य मन्त्रालयले भने प्रारम्भिक रूपमा १८२ जनाको मृत्यु पुष्टि गरेको छ, यद्यपि मृतक संख्या अझै बढ्न सक्ने जनाएको छ।
राजधानी बेरुतमा मात्रै ९१ जनाको ज्यान गएको पुष्टि भएको छ। लगातार विस्फोटका कारण सहरका विभिन्न भागमा धुवाँका मुस्ला देखिएका थिए।
संयुक्त राष्ट्रसंघका मानव अधिकार प्रमुख भोल्कर टर्कले घटनालाई “अविश्वसनीय र भयावह नरसंहार”को संज्ञा दिएका छन्।
इजरायली सेनाका अनुसार १० मिनेटभित्र बेरुत, बेका उपत्यका र दक्षिणी लेबनानका १०० भन्दा बढी सैन्य संरचना तथा कमाण्ड केन्द्रमा समन्वित आक्रमण गरिएको थियो।
यसैबीच, हिज्बुल्लाहले युद्धविराम उल्लंघनको आरोप लगाउँदै उत्तरी इजरायलको मनारा क्षेत्रमा रकेट आक्रमण गरेको जनाएको छ। “हाम्रो देश र जनतामाथिको इजरायली–अमेरिकी आक्रमण बन्द नभएसम्म जवाफ जारी रहनेछ,” समूहले विज्ञप्तिमा उल्लेख गरेको छ।
गत मार्च २ मा हिज्बुल्लाहले इजरायलतर्फ आक्रमण गरेपछि क्षेत्रीय तनाव तीव्र बनेको हो। त्यसयता इजरायलले हवाई तथा स्थल आक्रमणलाई तीव्र बनाएको छ।
युद्धविराम प्रयास संकटमा
घटनाले क्षेत्रीय युद्धविराम प्रयासमाथि गम्भीर प्रश्न उठाएको छ। अमेरिका र इरानबीच सुरु भएको दुई साताको युद्धविराम पहललाई इजरायलले समर्थन गरे पनि लेबनानमा आक्रमण नरोक्ने संकेत दिएको छ।
इरानी राष्ट्रपति मसूद पेज़ेशकियनले भने लेबनानमा युद्धविराम कायम हुनु नै अमेरिका–इरान सहमतिको प्रमुख शर्त भएको बताएका छन्।
आक्रमणपछि उद्धार कार्य निकै कठिन बनेको छ। एम्बुलेन्सको अभावका कारण घाइतेलाई मोटरसाइकलमार्फत अस्पताल पुर्याइएको दृश्य देखिएको छ। बेरुतका ठूला अस्पतालहरूले रगत अभाव भएको भन्दै सर्वसाधारणसँग सहयोगको अपिल गरेका छन्।
आक्रमणका कारण राजधानीका धेरै भवनहरू ध्वस्त भएका छन्। उद्धारकर्मीहरूले भग्नावशेषबाट जीवित व्यक्तिहरूलाई निकाल्ने प्रयास जारी राखेका छन्।









