रुकुमपूर्व। प्रचण्ड चुनाव जितेको दुई महिनापछि आज रुकुमपूर्व आउँदैछन्। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक रहेका उनी बिहान १० बजे रुकुमकोट पुग्ने कार्यक्रम रहेको जिल्ला पार्टी संयोजक कुमारी बरालले जानकारी दिइन्।
हाल रुकुम पश्चिममा रहेका प्रचण्ड त्यहाँबाट आफ्नो निर्वाचन क्षेत्र रुकुम पश्चिम पुगेर पुनः फर्किने कार्यक्रम रहेको छ। उनको यो भ्रमण मुख्यतः चुनावी समीक्षा बैठकमा केन्द्रित रहने बताइएको छ।
निर्वाचन जितेलगत्तै फागुन २२ गते हेलिकप्टरमार्फत काठमाडौं फर्किएका प्रचण्ड त्यसयता जिल्लामा आएका थिएनन्। चुनावअघि भने उनले गाउँगाउँ पुगेर विकास, समृद्धि, सडक, रोजगारी र परिवर्तनका प्रतिबद्धता जनाएका थिए।
स्थानीय मतदाताले प्रचण्डको यो भ्रमणलाई केवल औपचारिक उपस्थितिका रूपमा नभई चुनावी वाचा कार्यान्वयनको परीक्षणका रूपमा हेरेका छन्। समीक्षा बैठकभन्दा बाहिर सडक, स्वास्थ्य, शिक्षा, रोजगारी र पूर्वाधारका ठोस योजना सार्वजनिक हुने अपेक्षा नागरिकले गरेका छन्।









