मन्त्रिपरिषद् विस्तार : सुधन गुरुङ पुनः गृहमन्त्री, महावीर पुन विज्ञान तथा नवप्रवर्तन मन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् विस्तार गर्दै दुई मन्त्री नियुक्त गरेका छन्। नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।

राष्ट्रपति कार्यालयमा आयोजित शपथ ग्रहण समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, मन्त्रीहरू तथा सांसदहरूको उपस्थिति रहेको थियो।

गुरुङ यसअघि पनि गृहमन्त्रीको जिम्मेवारीमा रहेका थिए। उनको सम्पत्ति विवरणसम्बन्धी विवादपछि उनले पदबाट राजीनामा दिएका थिए। त्यसपछि सरकारले गठन गरेको छानबिन समितिले आरोप पुष्टि नभएको निष्कर्षसहित उनलाई क्लिनचिट दिएपछि उनी पुनः गृह मन्त्रालयको नेतृत्वमा फर्किएका हुन्।

यता महावीर पुन यसअघि जेनजी आन्दोलनपछि गठन भएको सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बनेका थिए। फागुन २१ मा सम्पन्न निर्वाचनअघि मन्त्री पदबाट राजीनामा दिएर चुनावी प्रतिस्पर्धामा होमिएका पुन निर्वाचित भएपछि पुनः मन्त्रिपरिषद्मा समावेश भएका हुन्।

गुरुङ गोरखा–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निर्वाचित सांसद हुन् भने पुन म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद हुन्। मन्त्रिपरिषद् विस्तारसँगै सरकारले गृह प्रशासन तथा विज्ञान–प्रविधि क्षेत्रका प्राथमिकतामा नयाँ गति दिने अपेक्षा गरिएको छ।