काभ्रे बस दुर्घटना छानबिन गर्न ६ सदस्यीय समिति गठन

काभ्रेपलाञ्चोक। बीपी राजमार्गअन्तर्गत काभ्रेको नमोबुद्ध–२ बुच्चाकोटमा शुक्रबार भएको बस दुर्घटनाको सत्यतथ्य छानबिन गर्न नेपाल प्रहरी प्रधान कार्यालयले ६ सदस्यीय छानबिन समिति गठन गरेको छ।

दुर्घटनामा ८ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए। घटनाको वास्तविक अवस्था, दुर्घटनाको कारण र जिम्मेवार पक्षको पहिचान गर्न प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले समिति गठन गरेका हुन्।

नेपाल प्रहरी प्रदेश कार्यालय पनौतीका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) कमल थापाको संयोजकत्वमा गठित समितिमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी डीएसपी रविन विष्ट, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्था कार्यालय चितवनका डीएसपी गंगा सारु, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरीक्षक दिनेश खरेल, इलाका प्रहरी कार्यालय देवीटार, महाभारतका प्रहरी हबल्दार बासुदेव खड्का तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाका प्रहरी वरिष्ठ नायव निरीक्षक टंक शिवाकोटी सदस्य सचिव रहेका छन्।

प्रहरी प्रधान कार्यालयले समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन समय दिएको छ। समितिलाई दुर्घटनाको कारण, परिस्थितिलगायत सबै पक्षको अध्ययन गरी सत्यतथ्य छानबिनसहित प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको प्रहरीले जनाएको छ।