एमालेको राष्ट्रिय भेलामा ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौँ । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते आयोजना गर्न लागेको राष्ट्रिय भेलाको तयारी तीव्र पारेको छ। पार्टीको आन्तरिक एकता सुदृढ गर्दै आगामी निर्वाचन र राजनीतिक चुनौती सामना गर्न नेता–कार्यकर्तालाई एकताबद्ध रूपमा परिचालन गर्ने उद्देश्यसहित एमालेले भेलाको तयारी अघि बढाएको हो।

भेलाको तयारीका लागि आज पार्टी केन्द्रीय कार्यालयमा उपाध्यक्ष विष्णु पौडेलको प्रमुख आतिथ्यतामा दोस्रो बैठक बसेको थियो। बैठकलाई सम्बोधन गर्दै पौडेलले पार्टीको आन्तरिक जीवन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति र जनजीविकाका सवालमा पार्टी पङ्क्तिमा साझा बुझाइ विकास गर्नु भेलाको मुख्य उद्देश्य रहेको बताए।

केन्द्रीय कमिटीको तेस्रो बैठकले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने निर्णय गरेको उल्लेख गर्दै उनले उक्त निर्णयअनुसार नेता तथा कार्यकर्तालाई उत्साहित बनाउँदै आगामी स्थानीय तहको निर्वाचनको तयारीमा जुटाउन राष्ट्रिय भेला सफल हुने विश्वास व्यक्त गरे।

स्थानीय तहको निर्वाचनमा एमालेले आफ्नो प्रभाव र सामर्थ्य प्रदर्शन गर्नुपर्नेमा जोड दिँदै पौडेलले २०८२ सालको निर्वाचनको परिणाम क्षणिक धक्का भएको पार्टीको बुझाइलाई व्यवहारबाट प्रमाणित गर्नुपर्ने बताए। पार्टीलाई पुरानै राजनीतिक धारमा फर्काउन सङ्गठनलाई सक्रिय बनाउँदै अघि बढ्नुपर्ने उनको भनाइ थियो।

राष्ट्रिय भेलाले पार्टी पङ्क्तिलाई आगामी राजनीतिक चुनौती सामना गर्न तयार पार्ने उल्लेख गर्दै पौडेलले सडक आन्दोलन र निर्वाचन दुवैका लागि आवश्यक तयारी गर्नुपर्ने बताए। “सडकमा जानुपर्दा सडकको तयारी र निर्वाचनमा जानुपर्दा निर्वाचनकै तयारीका साथ अघि बढ्नुपर्छ,” उनले भने।

बैठकमा पार्टी महासचिव शंकर पोखरेलले राष्ट्रिय भेलालाई सफल बनाउन नेता तथा कार्यकर्तालाई सक्रियतापूर्वक परिचालित हुन आग्रह गरे। भेलाको सन्देश पार्टी पङ्क्ति हुँदै जनस्तरसम्म पुर्‍याउन व्यापक प्रचारप्रसारमा जुट्न पनि उनले निर्देशन दिए।

बैठकको अध्यक्षता गरेका पार्टी सचिव तथा सङ्गठन विभाग प्रमुख भानुभक्त ढकालले भेलाको तयारीका क्रममा अहिलेसम्म भएका कामबारे जानकारी गराएका थिए। उनका अनुसार राष्ट्रिय भेलामा केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश तथा जिल्ला कमिटी, स्थानीय तह, जनसङ्गठन र विभिन्न तहका जनप्रतिनिधिसहित कुल तीन हजार १६४ जना सहभागी हुनेछन्।

एमालेका अनुसार भेलामा ३४६ जना केन्द्रीय सदस्य र केन्द्रीय निकायबाट ८१ जना सहभागी हुनेछन्। आठ प्रदेश कमिटी, भारत प्रवास तथा प्रवासी नेपाली मञ्चका तर्फबाट ५५ जनाको सहभागिता रहनेछ।

त्यस्तै, ७७ जिल्ला, सम्पर्क कमिटीअन्तर्गतका सात जिल्ला कमिटी र राजधानी प्रदेशअन्तर्गतका चार जिल्लासहित जिल्ला तहबाट ४४० जना सहभागी हुनेछन्। पालिकास्तरका कमिटीका अध्यक्ष तथा पदाधिकारीमध्येबाट एक जनाका दरले एक हजार ५०६ जनालाई भेलामा सहभागी गराइनेछ।

सङ्घीय संसद् तथा राष्ट्रिय सभासहित ३५ जना र प्रदेशसभा सदस्य १५५ जना सहभागी हुनेछन्। स्थानीय तहका निर्वाचित प्रतिनिधिमध्ये मेयर तथा गाउँपालिका अध्यक्ष १९६ जना र उपमेयर तथा गाउँपालिका उपाध्यक्ष ३४२ जनाको सहभागिता रहने एमालेले जनाएको छ। त्यसैगरी, विभिन्न जनसङ्गठनबाट ९६ जना सहभागी हुनेछन्।

एमालेले राष्ट्रिय भेलालाई पार्टीको आन्तरिक एकता बलियो बनाउने, सङ्गठनलाई थप सक्रिय बनाउने र आगामी निर्वाचनका लागि पार्टी पङ्क्तिलाई एकीकृत रूपमा परिचालन गर्ने अवसरका रूपमा लिएको छ।

पार्टी नेतृत्वले भेलामार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक परिस्थिति र जनजीविकाका सवालमा साझा धारणा निर्माण गर्दै नेता–कार्यकर्तालाई आगामी राजनीतिक गतिविधिका लागि तयार पार्ने लक्ष्य राखेको छ।

स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै सङ्गठन विस्तार, कार्यकर्ता परिचालन र जनस्तरमा पार्टीको सन्देश पुर्‍याउने विषय पनि भेलाको तयारीसँग जोडिएको छ।