‘दयारानी’को गीत ‘लाइदेऊ छपक्कै’ रिलिज

गुरुङ संस्कृतिको कथावस्तुमा आधारित फिल्म ‘दयारानी’ले पहिलो सप्ताहन्त सुखद कमाइ गरेको छ । निर्माताले पहिलो तीनदिने कमाइ सार्वजनिक गर्दै कलेक्सनबारे जानकारी दिएका हुन् ।निर्माता तथा निर्देशक माओत्से गुरुङका अनुसार फिल्मले शुक्रबार, शनिबार र आइतबार देशव्यापी एक करोड २५ लाख रुपैयाँ ग्रस कमाएको छ । फिल्मले गुरुङ समुदाय बहुल पोखरामा अहिले पनि आक्रामक कमाइ गरिरहेको छ ।

मंगलबार पनि पोखरेली मल्टिप्लेक्समा यो फिल्मको अकुपेन्सी ५० प्रतिशतभन्दा माथि छ । निर्देशक गुरुङको गृहनगर र गुरुङ संस्कृतिको केन्द्र भएकाले पनि पोखरामा यो फिल्मको प्रदर्शन आक्रामक बनेको हो ।

मिडटाउन सिनेमाजका प्रमुख निकेश द्वाले ‘डंकी’ र ‘सलार’पछि ‘दयारानी’ले हलमा दर्शक फर्काउन सकेको बताए । ‘दयारानीले हामीलाई व्यावसायिक रुपमा निकै राहत दियो,’ उनले भने, ‘अहिले पनि ६ शोसहित राम्रै चलिरहेको छ ।’

‘दयारानी’को नयाँ गीत ‘लाइदेऊ छपक्कै’ मंगलबार युट्युबमा सार्वजनिक भएको छ । विनोद बानियाँको संगीत तथा मन क्षेत्रीको शब्द रचना अनि संगीतकार बानियाँ र मेलिना राईको स्वर सुन्न सकिन्छ ।गीतमा दयाहाङ राई, विजय बराल र शिरिषा कुँवर लगायतलाई फिचर्ड गरिएको छ ।

SHARE