दसैंमा प्रदर्शनमा आएका सिक्वेल फिल्ममध्ये ‘कबड्डी’को कमाइ सर्वाधिक

दसैंको अवसर पारेर प्रदर्शनमा आएका नेपाली फिल्ममध्ये ‘कबड्डी : आफ्टर द फाइनल म्याच’ले सर्वाधिक कमाइ गरेको छ। सिक्वेल फिल्मबीचको प्रतिस्पर्धामा उत्रिएको यस फिल्मले प्रदर्शनको १० दिनमा १० करोड रुपैयाँभन्दा बढी कमाइ गर्दै अन्य फिल्मलाई पछाडि पारेको हो।

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस विवरणअनुसार ‘कबड्डी’ले हालसम्म १० करोड ७६ लाख ७३ हजार ७१५ रुपैयाँ ग्रस कमाइ गरेको छ। फिल्मले तीन लाख ४६ हजारभन्दा बढी टिकट बिक्री गरेको छ।

दसैंको छेको पारेर ‘आ बाट आमा–२’, ‘छ माया छपक्कै–२’, ‘१२ गाउँ–२’ र ‘कबड्डी’ प्रदर्शनमा आएका थिए। यीमध्ये ‘कबड्डी’ पाँचौँ संस्करण हो भने अन्य तीन फिल्म यसअघिका सफल फिल्मका दोस्रो संस्करण हुन्।

सुरुवाती प्रदर्शनमा तुलनात्मक रूपमा राम्रो संकेत देखाएको ‘कबड्डी’को कमाइले अन्य सिक्वेल फिल्मलाई उछिनेको हो। रोचक संयोग के छ भने दयाहाङ राई मुख्य भूमिकामा रहेको ‘कबड्डी’लाई दयाहाङकै अभिनय रहेको अर्को फिल्म ‘पेन्सन पट्टा’ले पछ्याइरहेको छ। उक्त फिल्मले १० करोड २८ लाख रुपैयाँभन्दा बढी कमाइ गरेको छ।

बक्स अफिस विवरणअनुसार ‘आ बाट आमा–२’ले हालसम्म ६ करोड २४ लाख ७० हजार रुपैयाँभन्दा बढी कमाएको छ। त्यस्तै, ‘बा एक योद्धा’ले तीन करोड ५४ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दा ‘छ माया छपक्कै–२’को कमाइ तीन करोड ३४ लाख रुपैयाँ पुगेको छ।

यस सूचीमा ‘१२ गाउँ–२’को कमाइ दुई करोड २९ लाख रुपैयाँभन्दा बढी छ।

यसैबीच, हालसम्म प्रदर्शनमा आएका नेपाली फिल्ममध्ये ‘गौंथली’ले सर्वाधिक कमाइ गरेको छ। चलचित्र विकास बोर्डको विवरणअनुसार यस फिल्मको कुल कमाइ २६ करोड सात लाख रुपैयाँभन्दा बढी पुगेको छ।