निर्माणधीन जिरी माविको भवन अन्तिम चरणमा

चीन सरकारबाट सहयोग प्राप्त निर्माणाधीन जिरी माविको भवन निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । दोलखा जिल्लाको सामुदायिक विद्यालयमध्ये पुरानो विद्यालयको रूपमा रहेको माविको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो ।

वि. सं. २०१६ मा स्थापना भएको उक्त विद्यालय २०७२ को विनाशकारी गोरखा भूकम्पका कारण क्षेतिग्रस्त बनेको थियो । २०७६ साल जेठ २८ गते नेपाल सरकार र चिनियाँ सरकारबीच कार्यान्वयन सम्झौता भएपश्चात् झन्डै भूकम्प गएको सात वर्षपछि काम सुरु भएको थियो ।

चीन सरकारको अनुदानमा १ अर्ब ३६ करोडमा निर्माण सम्झौता भएको जिल्लाको जिरी नगरपालिका –६ मा अवस्थित जिरी मावि नमुना विद्यालय बन्नेछ ।

विद्यालय भवन लगायतका भौतिक संरचना निर्माणको जिम्मा लिएका चिनियाँ ठेकेदार कम्पनीले २८ महिनाभित्र काम सम्पन्न गरि हस्तान्तरण गर्नुपर्ने छ ।

विद्यालय भवनको निर्माण ९० प्रतिशत सकिसकेकाले सम्झौताको मितिमै काम सम्पन्न गरी हस्तान्तरण गरिने प्रोजेक्ट म्यानेजर लान मिङ छ्याङले बताए ।

SHARE