डिजिटल बजारको दबाबबीच ‘हाम्रो जुत्ता घर’को यात्रा : अकुर गौतम

काठमाडौंको असन क्षेत्रमा रहेको ‘हाम्रो जुत्ता घर’ विगत चार वर्षदेखि सञ्चालनमा छ। जुत्ता पसलका रूपमा चिनिए पनि यहाँ जुत्तासँगै कपडा लगायत विभिन्न प्रकारका सामग्री एउटै स्थानमा उपलब्ध छन्। पसलमा नाइक, एडिडास, रिबुकजस्ता ब्रान्डेड जुत्तादेखि मध्यम मूल्यका स्पोर्ट्स सुजसम्म पाइन्छन्। यहाँ १ हजार ५ सय रुपैयाँदेखि १० हजार रुपैयाँसम्मका जुत्ता बिक्री हुने गरेका छन्।

व्यवसायीका अनुसार अहिलेको बजार अवस्था पहिलेको जस्तो उत्साहजनक छैन। एक समय निकै चलायमान रहेको जुत्ता बजार अहिले सुस्त बनेको छ। “पहिले जुन अनुपातमा बजार चल्थ्यो, अहिले त्यस्तो छैन। बजार एकदमै डाउन छ,” उनी भन्छन्।

उनका अनुसार बजारमा आएको परिवर्तनको मुख्य कारण डिजिटल मार्केटिङ र अनलाइन व्यापारको विस्तार हो। आफूले अहिलेसम्म व्यवस्थित रूपमा डिजिटल मार्केटिङ नगरे पनि अहिलेको समयमा भौतिक बजारभन्दा डिजिटल माध्यमले व्यापारलाई बढी चलायमान बनाएको अनुभव उनले गरेका छन्।

“ग्राहकहरू अहिले अनलाइनतर्फ आकर्षित भएका छन्। डिजिटल मार्केटिङ गर्ने व्यवसायीहरूकोमा ग्राहकको भीड देखिन्छ, तर त्यसबाट टाढा रहनेहरूको पसलमा ग्राहक कम हुन्छन्,” उनी भन्छन्। सामाजिक सञ्जाल र मल्टिमिडियाको प्रभावले उपभोक्ताको किनमेल गर्ने शैली नै परिवर्तन भएको उनको बुझाइ छ।

व्यवसायमा आउनुअघि उनले आफ्ना दाइको पसलमा लामो समय कामदारका रूपमा काम गरे। त्यहीँबाट प्राप्त चार वर्षको अनुभवलाई आधार बनाएर आफ्नै व्यवसाय सुरु गर्ने निर्णय गरे। “पहिले अरूकहाँ काम गर्दा सिकेको अनुभव नै मेरो पूँजी बन्यो,” उनी सम्झिन्छन्।

व्यवसाय सुरु गर्दा उनले करिब ४० देखि ५० लाख रुपैयाँ लगानी गरेका थिए। विस्तारै व्यापार बढ्दै जाँदा लगानी पनि बढ्यो। अहिले ‘हाम्रो जुत्ता घर’ करिब साढे दुई करोड रुपैयाँको लगानीमा सञ्चालन भइरहेको छ। व्यवसायको सम्पूर्ण जिम्मेवारी परिवारकै सदस्यहरूले मिलेर सम्हालिरहेका छन्।

आम्दानीको हिसाबले सामान्य समयमा मासिक तीनदेखि चार लाख रुपैयाँसम्म बचत हुने गरेको उनी बताउँछन्। दशैं–तिहारजस्ता चाडपर्वको सिजनमा भने व्यापार उल्लेखनीय रूपमा बढ्छ। “सबै खर्च कटाएर सिजनमा आठदेखि दस लाख रुपैयाँसम्म आम्दानी हुन्छ,” उनी भन्छन्।

यद्यपि बढ्दो प्रतिस्पर्धाका कारण विगतको जस्तो नाफा अहिले सम्भव नभएको उनको अनुभव छ। बजारमा पसलहरूको संख्या बढ्दै जाँदा ग्राहक तान्न कठिन बन्दै गएको छ।

उनका लागि व्यवसाय केवल आम्दानीको माध्यम मात्र होइन, स्वतन्त्रताको अनुभूति पनि हो। “जागिरमा अरूको अधीनमा बसेर काम गर्नुपर्छ, तर व्यवसायमा आफ्नै निर्णयअनुसार अघि बढ्न पाइन्छ,” उनी भन्छन्। आर्थिक रूपमा पनि व्यवसायले रोजगारीभन्दा धेरै सम्भावना दिने उनको विश्वास छ।