म बन्दूक बनाउँदैछुः अध्यक्ष गोले

८ जेठ, धरान/नेपाल तामाङ घेदुङका केन्द्रीय अध्यक्ष मोहन गोले तामाङले नश्लवादी राज्यसत्ताको बिरुद्ध लड्न आफू बन्दूक बनाउँदै गरेको खुलासा गरेका छन् । नेपाल तामाङ घेदुङ प्रदेश नं. १ ले धरानमा सोमवार आयोजना गरेको स्थानीय तहको निर्बाचनमा तामाङ समुदायको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै गोलेले यस्तो बताएका हुन् ।

संसार उल्टो गतिमा हिडिरहेको बेला माक्र्स–एंगेल्सले संसारका उत्पीडित मजदुरहरुलाई द्वन्द्वात्मक भौतिकवादको हतियार बनाएर दिएको र त्यो हतियारले मालिक बिरुद्ध लड्दा विश्वका साम्राज्यवादी शक्तिहरु भयभित भएको उदाहरण दिनुहुँदै गोलेले अब बन्ने हतियारले नश्लवादी सत्ता ढालेरै छाड्ने विश्वास ब्यक्त गरे ।आजसम्म बिना हतियार लड्दा हाम्रो आन्दोलन कमजोर भयो’ गोलेले अगाडि भने– मेरै कार्यकालको अन्तसम्ममा सम्भवत सबै तामाङ युवाको हातमा एकएकवटा बन्दूक हुनेछ र त्यही बन्दूकले ताम्सालिङ प्राप्तीको अन्तिम लडाइँ लडिनेछ ।

तर त्यो बन्दूक बिचारको बन्दूक हुने गोलेले स्पष्ट पारे । केही जनजाति अभियाकर्मीहरुले फलामको बन्दूक बोक्नुपर्ने तर्क दिएकोमा आपत्ती प्रकट गर्दै उनले समाज विकासको विज्ञानलाई बुझ्न नसक्दा यस्तो काँचो तर्क आएको बताए ।
आफूले पनि बुद्धि नहुँदा २०४८ सालको स्थानीय चुनावमा खुकुरी र चुप्पी बोकेर हिँडेको स्मरण गर्दै गोलेले त्यस्ता अतिवादी तर्क दिने दुस्साहसी साथीहरुलाई अझ किताव पढ्न आग्रह गरे । अध्ययनको कमी हुँदा दिमागमा यस्तो गलत बिचारले घर गर्ने उनको भनाई थियो ।

बन्दूक र बुटले राज्यसत्ता कब्जा गर्न नसक्ने र रक्षा पनि गर्न नसक्ने गोलेले बताए । जनताको मनलाई जित्न नसक्दा पूर्व राजा ज्ञानेन्द्र लाखौ बन्दूक र बुटको बीचमा हुँदा हुँदै नारायणहिटी दरबार छाड्नुपरेको उदाहरण उनले पेश गरे ।

उत्पीडित जाति, बर्ग र समुदायलाई पहिचान र अधिकार दिन नचाहने ब्यक्ति नभई यो राज्यको प्रवृति भएको औल्याउँदै उनले फलामको बन्दूकले ब्यक्तिको भौतिक जीवन समाप्त नपारेर बिचारको बन्दूकले प्रवृतिको अन्त गर्नुपर्ने बताए ।
अन्तिम लडाइँमा ५ करोड पैसा जम्मा गरेर ५ लाख उत्पीडित जनताले ५ दिन मात्रै सिंहदरबार घेरिने र ताम्सालिङ लगायतको राष्ट्र निर्माण गरिने दाबी गर्दै उनले सबैलाई शक्ति निर्माणमा लाग्न आग्रह गरे ।

स्थानीय तहको निर्बाचनमा जितेर तामाङले मुक्ति प्राप्त गर्ने नभई राहत मात्र पाउने गोलेको तर्क थियो । यो राहतलाई ताम्सालिङ आन्दोलनको तयारीमा प्रयोग गर्न सक्यौ भने मात्रै तामाङ जीवनको समृद्धिको ढोका खुल्ने उनले बताए ।
त्यसैले घेदुङले स्थानीय निर्बाचनलाई तामाङ आन्दोलनबाट उठेका मुद्दाहरुलाई स्थापित गर्ने अवसरको रुपमा उपयोग गर्ने रणनीति लिएको छ । निर्बाचनमार्फत ताम्सालिङ पहिचान र अधिकारको सवालहरुलाई तामाङ मतदाता, उमेदवार र राजनीतिक दल समक्ष पु¥याउने प्रदेश नं. १ का अध्यक्ष मित्रसेन योन्जनले बताए ।

कार्यक्रममा झापा, मोरङ र सुनसरी जिल्लाका सयभन्दा बढी नेता, कार्यकर्ता तथा तामाङ उमेदवारहरुको उपस्थिति रहेको थियो । यसै बीच विभिन्न पार्टीबाट सुनसरी जिल्लामा उमेदवारको रुपमा प्रस्तुत भएका एक दर्जन बढी तामाङ उमेदवारहरुको परिचयात्मक कार्यक्रम समेत राखिएको थियो ।

प्रदेश अध्यक्ष मित्रसेन योन्जन तामाङको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा स्वागत मन्तब्य प्रदेश उपाध्यक्ष रामबहादुर ग्याबा तामाङले गर्नुभएको थियो भने सञ्चालन प्रदेश समितिका सहसचिव मणि तितुङ तामाङले गरेका थिए ।

SHARE