इंग्ल्यान्ड महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ

सोमबार भएको खेलमा नाइजेरियालाई पेनाल्टी सुटआउटमा ४-२ गोलअन्तरले पराजित गर्दै इंग्ल्यान्डले अन्तिम आठमा स्थान बनाएको हो । निर्धारित र थप गरिएको समयसम्म इंग्ल्यान्डलाई रोकेको नाइजेरिया पेनाल्टी सुटआउटमा पराजित हुन पुग्यो ।

इंग्ल्यान्डकी लौरेन जेम्स खेलको ८७औँ मिनेटमा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएकी थिइन् । योसँगै इंग्ल्यान्ड १० खेलाडीमा समेटिएको थियो । थप गरिएको अतिरिक्त ३० मिनेटको समयमा १० खेलाडीमा झरेको इंग्ल्यान्डविरुद्ध नाइजेरियालाई अग्रता बनाउने राम्रो मौका थियो । तर, गोल गर्न सकेन ।

त्यसपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो । इंग्ल्यान्डका च्लोई केली, एलेक्स ग्रिनवुड, राचेल डेली र बेथानी इंग्ल्यान्डले गोल गरे । जर्जिया स्ट्यान्वेले प्रहार गरेको बल भने गोलमा परिणत हुन सकेन ।

पेनाल्टी सुटआउटमा नाइजेरियाका डेसिर ओपारानोजी र मिकेली अलोजीले प्रहार गरेको सुरुवाती दुई पेनाल्टी गोलमा परिणत हुन सकेन । त्यसपछि रासिडट अजिबाड  र क्रिस्टी उचेइबेले भने पेनाल्टीमा गोल गर्न सफल भए ।

SHARE