काठमाडौं । शुक्रबारदेखि सक्रिय रहेको वर्षा गराउने प्रणाली कमजोर भएसँगै देशभरको मौसममा सुधार आएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार र शनिबार बिहानजस्तो लगातार वर्षा अब नहुने देखिएको छ।
मौसमविद् विभूति पोखरेलले प्रिमनसुनका गतिविधि भने यथावत् रहने बताउँदै आइतबार पनि छिटफुट बदली रहने जानकारी दिइन्। उनका अनुसार अहिले पूर्वी क्षेत्रसहित देशका विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ, जुन क्रमशः कम हुँदै जानेछ।
हाल सक्रिय प्रणाली बाहिरिए पनि प्रिमनसुनको प्रभावका कारण घाम लाग्ने र फेरि बदली हुने क्रम जारी रहनेछ। यद्यपि ठूलो र लामो समयसम्मको वर्षा भने तत्काल नहुने विभागले जनाएको छ।
विभागको अभिलेखअनुसार पछिल्लो २४ घण्टामा पाल्पामा सबैभन्दा बढी ७५.८ मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै रुपन्देहीमा ७५.२, मोरङमा ६३.८, धनकुटामा ६३.२ र कपिलवस्तुमा ५९.६ मिलिमिटर वर्षा भएको छ।
हाल कोशी, बागमती र मधेस प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ।








