‘नारायण रायमाझी साङ्गीतिक साँझ–२०८०’ हुँदै

काठमाडौंँ । लोकदोहोरी गायक तथा संगीतकार नारायण रायमाझी एकल साँझ हुने भएका छन् ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले यहि भदौ १५ गते प्रज्ञा प्रतिष्ठान कमलादीमा नारायण रायमाझीको एकल साँझ आयोजना गर्ने भएको हो ।

नेपाल टेलिकम मुख्य प्रायोजक रहेको एकल साँझको ‘नारायण रायमाझी साङ्गीतिक साँझ–२०८०’ नाम दिइएको छ । कार्यक्रममा गायक रायमाझीले आफ्ना लोकप्रिय पुरानादेखि नयाँ दर्जन बढी गीत प्रस्तुत गर्नेछन् । प्रतिष्ठानले पहिलो पटक श्रष्ठाको एकल साँझ आयोजना गर्न लागेको हो ।

पाल्पा जिल्ला साबिकको झडेवा वडा नं. ५ र हाल माथागढी गाउँपालिका वडा नं. ४ देउवीर, गोठादीमा वि.सं. २०२० सालमा जन्मिएका गायक रायमाझी लोक गीत सङ्गीतमा २०४२ सालमा कारगिल (रेलिमै) बाट आफ्नो साङ्गीतिक यात्राको  थालनी गरेका रायमाझीका भुईंफुलबुट्टे चोलीमा, राम्दीपूल तरने बित्तिकै, राम्दी पूल तर्ने, गेटमा बेलीजाई, कालो केशमा रातो रिबन, शिरमा रिबन, तिनाउ खोलामा, पसिनाले पैसा साटेर, माया पैंचो नदेउ साईंली, लाइछौ बेशन, नमुछे आमा दहीमा टीका, हाँसेर बोलीदेऊ माया, सान्नानीले झुक्कायो मलाई लगायतका सयौँ लोकप्रिय गीतहरू छन् ।

रायमाझीले ‘गोर्खा पल्टन’, ‘परदेशी’ र ‘परदेशी २’ लगायतका फिल्म निर्माण र निर्देशन गरेका छन् । फिल्म ‘परदेशी २’ प्रदर्शनमा आउन बाँकी रहेको छ ।

SHARE