माघ १ गतेलाई ‘माघे सक्रान्ति’, ‘मकर सक्रान्ति’ भनेर चिनिन्छ । यस दिनमा तरुल, कन्दमूल, चाकु जस्ता खानेकुरा विशेषगरी खाने गरिन्छ । किराती समुदाय, थारू, मगरलगायतका समुदायले माघ १ गतेलाई नयाँ वर्ष सुरुवात हुने दिनका रूपमा लिने गरेका छन् ।
मगर समुदायले माघे सक्रान्तिलाई ‘माघे सकराती’ भनेर प्रमुख राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा मनाउने गरेको छ । काठमाडौंमा रहेका मगर समुदायले यस वर्ष पनि माघे सकराती टुडिखेलमा विशेष कार्यक्रम गरी मनाए ।
टुडिखेलमा भेटिएका केही नयाँ पुस्तासँग माघे सकरातीको सांस्कृतिक पक्षबारे के थाहा छ भनेर सोधेका थियौँ । सो प्रश्नको उत्तर यहाँ प्रस्तुत गरिएको छ ।
पितृ र चेलीको पूजा गरिन्छ : भिमकाजी पुन मगर
हामी मगर प्रकृति पूजक हौँ । विभिन्न काल खण्डमा मगरहरूमा एक किसिमको हिन्दुकरण हुँदा भाषा संस्कृति कला विभिन्न कराहरू गुमाएका रहेछौँ । माघे सकरातीमा बिहानै नुहाइ–धुवाइ गरेर बुवाले, दाजुभाइले आफ्नो चेलीको पूजा गरिन्छ । त्यसपछि सखरखण्डलगायत विभिन्न कन्दमूल खान्छौँ । हामीले यो माघे सकरातीमा हामी पितृलाई पनि पूजा गर्छौँ ।
हाम्रो समुदायले विशेष रूपमा मनाउने भन्ने मात्र थाहा छ : आशिका लुङ्गेली मगर
मलाई त मगरको चाँड भन्ने मात्र थाहा छ । नयाँ वर्ष भनेर मनाउने गरेको छ । तर कति साल लाग्यो भनेर थाहा छैन । माघे सकरातीमा केके गरिन्छ, त्योबारे पनि थाहा छैन । टुडिखेल चाहिँ साथीहरूसँग आएको हुँ ।
तरुल र सुँगुरको मासु खाइन्छ : शङ्कर, मेसन रानामगर
धेरै कुरा त थाहा छैन । सकरातीमा फलफूल खाइन्छ । चाकु, रोटी, तरुल अनि सुँगुरको मासु पनि खाइन्छ । खासगरी वनतरुल खाइन्छ । वनतरुल चाहिँ अनिवार्य खाइन्छ ।
कार्यक्रमहरू हुँदा मगर भेषभूषा लगाएर जाने गरिन्छ ।
मगर र थारूको विशेष चाँड हो : सुस्मिता श्रेष्ठ
मगरका र थारू समुदायको विशेष चाड हो भन्ने थाहा छ । अरू कुरा चाहिँ थाहा छैन । हामी नेवारी समुदाय पनि माघे सक्रान्तिमा चाकु, घिउ, लड्डु जस्ता परिकार खान्छौँ ।
टुडिखेल चाहिँ साथीहरूसँग आएको हो । यहाँ कस्तो हुँदो रहेछ भनेर बुझ्न आएकी हुँ ।