चाकु के हो ? कसरी बनाइन्छ ? (भिडियो)

मकर सक्रान्ति अर्थात् माघे सक्रान्ति नेपाली समुदायको आँगनको मुखैमा आइपुगेको छ । माघे सक्रान्तिमा बिहानै नुहाउने र विभिन्न समुदायअनुसार खानेकुरा पकाएर खाने चलन छ ।

माघे सक्रान्तिमा विशेषगरी तरुल खाने चलन छ । ‘पुसमा पाक्य माघमा खाक्य’ भन्ने चलन पनि रहेको छ । अर्थात् पुसमा पकाएर माघमा खाने चलन । यही चलनअन्तर्गत चाकु खाने चलन पनि रहेको छ । चाकु जाडो महिनामा खाने गरिन्छ । शखरबाट बनाइने यसले रुघाखोकी लाग्नबाट बचाउने बताइन्छ । विशेषगरी काठमाडौं उपत्यकाका नेवार समुदायमा यसको प्रचलन रहेको छ ।

केही दिनअघि खुल्लापत्रकर्मी चाकु बनाइरहेको स्थल गोदावरी नगरपालिका १४ स्थित ठैवमा पुगेका थिए । उनले चाकुका बारे चाकु उत्पादकसँग चाकु कसरी बनाउने र चाकु के हो भनेर कुराकानी गरेका थिए । यहाँ सो कुराकानीको सम्पादित अंश प्रस्तुत गरिएको छ :

चाकु भन्नाले मिठो/गुलियो : रविन्द्र श्रेष्ठ
चाकु भनिएको नेवारी शब्द हो । मिठो/गुलियोलाई नेवारी शब्दमा चाकु भनिन्छ । यो खासमा जाडो भगाउनलाई/चिसोबाट बच्नलाई खाने गरिन्छ । यसलाई योमरीमा राखेर खाँदा शरीरमा चिसोपन हुँदैन । योमरीले गर्मीपन गराउँछ । चामलको पिठो र चाकु मिसायो भने ताप पैदा गर्छ ।

चाकु सांस्कृतिक परिकार वा खानेकुरा हो । चाकुमा गाईको घिउ लगाएर खाँदा घिउ चाकु भयो । यो माघे सक्रान्तिमा खाइन्छ । सक्रान्तिमा पालुङ्गोको साग पनि खाइन्छ । माघे सक्रान्तिका दिन यसरी विभिन्न परिकारहरु बनाएर खाइन्छ ।

प्रत्येक चाडहरूमा फरक खानेकुराहरू खाने गरिन्छ । योमरी पूर्णेमा योमरी, चटामरी विशेष रूपमा खाइन्छ । योमरी खाएपछि दिन लामो हुने भनेर बुझिन्छ । योमरीको चुच्चोले लामो दिन भन्ने जनाउँछ ।

माघे सक्रान्तीमा चाकु खाइन्छ । त्यस दिनबाट चाहिँ अब गर्मी सुरु भयो भन्ने बुझिन्छ ।

चाकु माघे सक्रान्ति र योमरीमा राखेर खानुका अलावा सुत्केरीलाई पनि खुवाउने चलन नेवार समुदायमा रहेको छ ।

चाकु कसरी बनाइन्छ ?
चाकु शखरबाट बन्ने चाकु बनाउँदै गरेकी ७० वर्षीय यमुना श्रेष्ठ बताउँछिन् । पुख्र्र्याैलीहरूले कयाैँ पुस्ताअघिदेखि परम्परागत रूपमा चाकु बनाउँदै आएका थिए । उनले पनि ती पुर्खाहरूबाट चाकु बनाउन सिकिन् ।

चाकु बनाउँदै गरेका दिप्सन राईका अनुसार शखर तामाको भाँडामा राखेर अड्कल गरी पानी राखिन्छ । दाउराको आगोमा बसालिन्छ । पाक्दै गएपछि कालो हुँदै जान्छ । पाँच÷छ वर्षदेखि चाकु बनाउँदै आएका उनी भन्छन्– ‘कतिपय शखरमा माटो, ढुङ्गा हुन्छ । तामाको भाँडामा बसाल्दा ढुङ्गामाटो भाँडाको पिँध वा तल बस्छ । दाउराको आगोमा पकाउँदा चाहिँ राप रहिहन्छ । ग्यासमा भन्दा राम्रो पाक्छ ।’

पाकिसकेपछि फराकिलो भाँडामा खन्याएर चलाउँदै सलाइन्छ । सादा बनाउने हो भने त्यसलाई ढुङ्गामाथि (छिटो सेलाओस् भनेर) राखिन्छ । अनि चाकेमा राखेर तानिन्छ । मसला चाकु बनाउने हो भने मसला मिसाएर तानिन्छ ।

त्यसरी तान्दा रङ हल्का रातो हुने र स्वाद पनि मिठो हुँदै जाने यमुना श्रेष्ठ बताउँछिन् । तानिसकेपछि चाकु तयार हुन्छ । त्यसलाई बजार पठाउनका लागि भने जोखेर प्याकिङ गरिन्छ ।

दिप्सन राईकाअनुसार त्यसरी बनाइएको चाकु एक–डेढ वर्षसम्म खाँदा हुन्छ । तर त्यसलाई भण्डारण गर्न कठिनाइ हुने उनको भनाइ छ । गर्मी मौसममा पग्लिने भएकाले भण्डारण गर्न कठिनाइ हुने भएको हो ।

चाकु कसरी बनाइन्छ ? हेर्नुहोस् भिडियो—

SHARE