नेपालले दियो भारतलाई २३१ रनको लक्ष्य

एसिया कप क्रिकेट २०२३ अन्तर्गत नेपालले आफ्नो दोस्रो तथा समूह चरणको अन्तिम खेलमा भारतलाई जितका लागि २३१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेपछि ब्याटिङको जिम्मा पाएको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाएर २ सय ३० रन जोड्यो ।

नेपालको पालीमा आसिफ शेखले ५८, सोमपाल कामीले ४८, कुशल भुर्तेलले ३८ र दीपेन्द्रसिंह ऐरीले २९ रन बनाए। गुल्सन झाले पनि २३ रन जोडे ।

नेपालले पहिलो विकेटका लागि ९.५ ओभरमा ६५ रनको साझेदारी गरेको थियो। त्यसपछि १०१-४ को अवस्थामा पुगेको नेपाललाई आसिफ,गुल्सन, दीपेन्द्र र सोमपालले उद्धार गरेका हुन्। सोमपालले सातौँ विकेटका लागि दीपेन्द्रसिंह ऐरीसँग ५० र आठौँ विकेटका लागि सन्दीप लामिछानेसँग ३४ रनको साझेदारी गरे।

भारतका रविन्द्र जडेजा र मोहम्मद सिराजले समान तीन विकेट लिए । हार्दिक पन्ड्या, शार्दूल ठाकुर र मोहम्मद सामीले समान एक विकेट लिए ।

SHARE