देश बचाउन पद सानो कुरा हो, आवश्यक परे अध्यक्ष त्याग्न तयार छु : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू पार्टी नेतृत्व छाड्न तयार रहेको बताएका छन्।

शनिबार अखिल नेपाल ट्रेड युनियन महासंघले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले पार्टी अध्यक्ष पद अब आफ्नो लागि सामान्य विषय भइसकेको भन्दै आवश्यक परे त्याग गर्न तयार रहेको घोषणा गरे।
प्रचण्डले भने, “देश बचाउन परे अध्यक्ष, पद वा कार्यकारी जिम्मेवारी साना कुरा हुन्। म पार्टी अध्यक्ष मात्र होइन, आवश्यक परे बलिदान गर्न पनि तयार छु।”

उनले पार्टी र देशको हितका लागि सबैलाई पनि त्याग र बलिदानको भावनासहित अघि बढ्न आग्रह गरे। साथै उनले यही विचारका आधारमा केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गरेको बताउँदै देशको हितका लागि नेतृत्वमा परिवर्तन गर्नुपरे पनि आफू तयार रहेको दोहोर्‍याए।

SHARE