काठमाडौँ । बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतमा सक्रिय रहेको नेकपा माओवादी केन्द्रनिकट योङ्ग कम्युनिस्ट लिग (वाइसीएल) ले प्रभावित परिवारका लागि अस्थायी आवास निर्माण सुरु गरेको छ।
भदौ १० गते भोटेकोशी र त्रिशूलीमा आएको बाढीपछि वाइसीएलले करिब ६०० स्वयंसेवक परिचालन गरी खोजी तथा उद्धार, घाइतेको उपचार, खाद्यान्न र राहत सामग्री वितरण गर्दै आएको थियो। अहिले प्रभावित परिवारको घर सरसफाइ हुन नसकेको र तत्काल बसोबासको समस्या रहेको भन्दै अस्थायी आवास निर्माण थालिएको वाइसीएल अध्यक्ष पुष्प ओलीले बताए।
पहिलो चरणमा नुवाकोटको बेलकोटगढी नगरपालिका–७ अन्तर्गत ठुलोखोला, लामोस्वती, रातमाटे र महादेवफाँटका प्रभावित परिवारका लागि १५० वटा अस्थायी आवास निर्माण गरिने ओलीले जानकारी दिए।
उनका अनुसार वाइसीएलले रसुवा, नुवाकोट र धादिङका दुर्गम तथा सडक सञ्जाल प्रभावित क्षेत्रमा ग्यास, पेट्रोल, सोलार लाइट, खाद्यान्न, औषधि, म्याट्रेस, कपडालगायत सामग्री पुर्याउँदै आएको छ। स्थानीयको आवश्यकता र पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनअनुसार अभियान सञ्चालन भइरहेको ओलीको भनाइ छ।









