मोन्टाज’ भित्रको समाज दर्पण

समग्रमा समकालीन समाजको सिंगो दुनियाँ नै मोन्टाजभित्र अटाएका छन् । अझ लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व गर्ने दुई समलिङ्गीहरुको कथालाई लगभग नाटकका अधिकांश दृश्यहरुमा देख्न सकिन्छ ।

‘रंगकर्मीहरुको काम नाटक गर्नु हो । नाटकको माध्यममा समाजका कथा, परिवेश र मौलिकतालाई रंगमञ्चमा उतार्नु हो ।’ अधिकांश नाट्यकर्ममा लागेका नाट्यकर्मीहरु यही धारणा राख्छन् । सिनामंगलस्थित ‘पुरानो घर’ थिएटरमा छिर्दै गर्दा माथिका भनाई अझै आत्मिय र सार्थक लाग्छन् । ‘पुरानो घर’ थिएटरले रंगमञ्चका लागि ढोका खोलेको दिनदेखि नै नाटक र नाट्यप्रेमीहरुका निम्ति निभाउनु पर्ने धर्मलाई निरन्तता दिइरहेको देखिन्छ । यसमा स्तम्भका रुपमा खडा छन्, रंगकर्मी सुलक्षण भारती र सिर्जना अधिकारी । कोरोना महामारीकै समयमा भारतीले आफैंको लेखन तथा निर्देशनमा नाटक ‘म’को मञ्चनसँगै नाटकघरलाई औपचारिक रुपमा सुरुवात गरे । जसमा सुरक्षा मापदण्डलाई मध्यनजर गर्दै उनले नाटकमा सोलो अभिनय गरेका थिए । त्यसपश्चात् ‘लाटीको छोरो’, ‘खत’ लगायत हाल मञ्चन भइरहेको नाटक ‘मोन्टाज’ सम्ममा भारतीले समाजलाई सूक्ष्म रुपमा नियालेका छन् । नाटकभित्र हाम्रो समकालीन भोगाईलाई सुमसुम्याउन पोख्त छन्, भारती । मानवीय समाजभित्र छरिएको कथालाई उनी टपक्कै टिप्छन्, त्यसमा आफ्नो भावनालाई मिसाउँछन् अनि दृश्यका रुपमा रंगमञ्चमा उतार्छन् । जुन दृश्यहरुले हाम्रै वरिपरीका कथालाई हामीमाझ नाटकका रुपमा दिल र दिमागमा अमिट छाप छोडिदिन्छन् । आम नाट्यप्रेमीका आँखालाई मात्र होइन मनलाई लामो समयसम्म छुने खालका सिर्जना रंगमञ्चमा पस्कन भारती माहिर छन् भन्न सकिन्छ । उनकै शब्दमा,‘नाटक उनको लागि सपना र रहर दुवै हुन् । म मेरो भावनाहरुलाई पछ्याउँछु अनि जे मनमा आउँछ, त्यही लेख्छु ।’ उनको नाटकघरमा भरिभराउ दर्शक विरलै हुन्छन् । उनका लागि दुई जना दर्शकका लागि नाटक मञ्चन गर्नु पनि रंगमञ्चप्रतिको उनको ठूलो धर्म हो । केवल उनी निरन्तर नाट्यकर्ममै छन् । नाटक गर्नु नै उनको काम हो । जहाँ उनी सिंगो समाजलाई देखिरहेका हुन्छन् ।

तस्बिर स्रोत : पुरानो घर थिएटरको पेजबाट साभार

यतिबेला भने भारतीले नाटक ‘मोन्टाज’ मार्फत आम समाज र मानवीय चरित्रलाई नियाल्ने जमर्काे गरिरहेका छन् । ‘पुरानो घर’मा मंसिर २२ देखि सुरु भएर पुस १५ सम्म मञ्चन जारी रहने नाटकभित्र कथाहरुको संगालो छ । ‘मोन्टाज’ भित्र ‘फस्ट किस’, ‘धोती भर्सेज ब्रा’ र ‘इन्गेजमेन्ट रिंग’ गरी तीनवटा कथाहरु छन् । जुन कथाहरुले समाजभित्रै अनवरत ढंगमा बगिरहेका आम मानिसहरुको चरित्रलाई दर्शाएका छन् । कथाहरु छोटा लाग्छन्, तर ती भित्र घटित् घटना र चरित्रहरु सशक्त छन् । जसलाई हामी आफैंले कैयौं समय, कालमा भोग्दै र देख्दै आएका छौं ।
‘फस्ट किस’मा युवा पुस्ताको प्रेम र आकर्षणसँगै मुलुकको सुरक्षा प्रशासनको उदाङ्गो रुपलाई देखाइएको छ । युवा र युवतीको सुरुवाती रोमाञ्चक प्रेम जीवनलाई ‘फस्ट किस’कथाक्रममा देख्न सकिन्छ । सुरक्षाको नाममा पूजा तामाङ र अनमोल क्षेत्रीको युगल जोडीलाई प्रहरी प्रशासनले गर्ने ज्यादती दृश्यमा हेर्दै गर्दा हाम्रै यथार्थ समाजको झलक आउँछ । सिंहदरवारको पश्चिमी गेट वरपरको वातावरणलाई केन्द्रित गर्दै यसमा केही राजनीतिक परिदृश्यलाई समेत समेटिएको छ । अर्काे कथा ‘धोती भर्सेज ब्रा’ मा भने पश्चिमा संस्कृतिलाई अंगाल्दै गएको एकखाले युवापुस्ता देखाइएको छ भने अर्काेतिर आफ्नै संस्कारमा रमाउँदै गरेको ऐश्वर्य मौरिया जस्ता पात्रलाई प्रस्तुत गरिएको छ । यसमा अरविन्द जस्तो पात्रमार्फत तराईमा शिक्षित भनिएका युवाहरुले नै दाइजो प्रथालाई मलजल गरिरहेको यथार्थलाई प्रस्ट्याउँछ । ‘इन्गेजमेन्ट रिंग’ मा भने सम्बन्धमा जोडिँदै र छुटिँदै गएका दुई जोडीहरुलाई देख्न सकिन्छ । एकातिर एक जोडी ‘इन्गेजमेन्ट रिंग’ सहित सम्बन्ध अगाडि बढाउने तरखरमा छन् । अर्काेतिर आ–आफ्नो स्वतन्त्रताका लागि ‘इन्गेजमेन्ट रिंग’ फिर्ता दिन तयार जोडी छन् । दीपक र मोनिकाको टुट्न लागेको सम्बन्ध, मोनालीको जोडिन लागेको सम्बन्धहरुले मानिसको स्वअस्तित्व, स्वपहिचान र आफ्नोपनाको महत्वलाई इंगित गर्दछन् । यसले सम्बन्धमा एकले अर्कालाई बुझ्न कति जरुरी छ भन्ने कुरा दर्शाउँदै महिलाका लागि आफ्नो भन्ने अस्तित्वको खोजी गर्छ । भारतीले महिलाको स्वअस्तित्व र स्वपहिचानका लागि आवाज उठान गरेका छन् । महिला भनेको पुरुषका लागि सन्तान जन्माउने र उसको परिवार बसाउने माध्यम होइन भन्ने पक्षलाई उनले ‘इन्गेजमेन्ट रिंग’मा स्थापित गर्ने जमर्काे गरेका छन् । यी तीनै वटा कथाहरुमा महिलालाई नै उनी केन्द्रमा राखेर अगाडि बढेका छन् । चाहे परम्परागत मूल्य मान्यता अडिग रहेका एश्वर्य होस् या आधुनिक समाज तथा शिक्षापद्धतिसँग नजिक मोनाली जस्ता महिला पात्रहरु नै नाटकभित्र बलियो रुपमा उभ्याइएको छ ।

समग्रमा समकालीन समाजको सिंगो दुनियाँ नै मोन्टाजभित्र अटाएका छन् । अझ लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व गर्ने दुई समलिङ्गीहरुको कथालाई लगभग नाटकका अधिकांश दृश्यहरुमा देख्न सकिन्छ । समलिङ्गी प्रेम, सम्बन्ध तथा आम मानिसले उनीहरुप्रति राख्ने नजरियालाई नाटकका दृश्यहरुमा समेटिएका छन् । यसलाई नाटकको सशक्त पक्षका रुपमा लिन सकिन्छ । मोन्टाजको लेखन र निर्देशन मात्र होइन अभिनयमा समेत भारतीलाई मञ्चमा देख्न सकिन्छ । यसले भारतीमा नाटक, मञ्चन र रंगमञ्चप्रतिको प्रेमलाई देखाउँछ ।
मञ्चमा भारतीसँगै रोश्नी कार्की, कुन्दन, निशा दाहाल, रितश कार्की, समन श्रेष्ठ, शिशिर गिरी, श्रवण यादव, पुजा तामाङ, अनमोल क्षेत्री अधिकारी, अरविन्द कुमार मौर्य, सोनिया लामा, रौनक कार्की, प्रम सागर सेजुवाल, इनारा बानु र शिला निरौलाको अभिनयलाई देख्न सकिन्छ । प्रत्यक्ष संगीत नाटकको अर्काे बलियो पक्ष हो । जसमा राजकमल, पूजा विश्वकर्मा छन् । त्यस्तै प्रकाश परिकल्पना र परिचालन जयराम ढकाल र मञ्च परिकल्पना कुन्दनले गरेका छन् । मञ्च निर्माण भने होम वि.सी.ले गरेका हुन् ।

SHARE