मैनालीद्वारा लिखित तीन पुस्तक सार्वजनिक

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति ठाकुरप्रसाद मैनालीद्वारा लिखित तथा सङ्कलित पुस्तकहरू ‘कलाका कुरा’, ‘मेरो कामना’ र ‘सिर्जना र विवेचना’ सार्वजनिक गरिएको छ ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, मूर्तिकला विभाग र ‘आरम्भ’ (नेपाली समसामयिक मूर्तिकारहरूको समूह) को संयुक्त आयोजनामा बिहीवार प्रतिष्ठानमा गरिएको कार्यक्रममा पुस्तकलाई मैनालीसहित प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, उपकुलपति लालकाजी लामा, सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, प्राज्ञ रमेश खनाल, ज्ञानेन्द्र विवश लगायतले सार्वजनिक गरेका हुन् ।
प्रतिष्ठानका कुलपति हार्तम्छालीले मैनाली जिउँदो सम्पदा भएको बताए । ‘ठाकुरप्रसाद मैनाली जिउँदो सम्पदा हुनुहुन्छ’, उनले भने, ‘पुस्ता हस्तान्तरणका लागि सदैव ऊर्जा दिनुहुने उहाँको व्यक्तित्व, कृतित्व उदाहरणीय छ । उहाँले मैनालीबाट नयाँ पुस्ताले धेरै कुरा सिक्दै जानुपर्ने छ ।’
उपकुलपति लामाले मैनालीले विविध पाटोमा काम गर्न सकिन्छ भनेर सन्देश दिएको बताए । उनले भने, ‘उहाँको ऊर्जाशील जीवन अझ सिर्जनशील होस् भन्ने कामना गर्दछु ।’ त्यस्तै कला लेखक तथा ्र विवशले ठाकुरप्रसाद मैनाली समग्र नेपाली कलाको दस्तावेजको भएको बताउँदै उनको कृतित्वलाई कलाकार, विद्यार्थीले सन्दर्भ सामाग्रीको रूपमा लिने बताए । मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतोले सार्वजनिक पुस्तकहरू वास्तवमै कला इतिहासका दस्तावेज भएको धारणा राखे । उनले भने, ‘कला सिर्जना गर्ने खुराकका रूपमा यी पुस्तकहरू आएका छन् ।’ अग्रज कलाकारहरूको प्रदर्शनी गर्ने सिलसिलामा मूर्तिकलाको प्रदर्शनी गर्ने तयारी गरिएको जानकारी गराउँदै उनले पहिलो प्रदर्शनी ठाकुरप्रसाद मैनालीको गर्ने तयारी गरिएको जानकारी समेत दिए । समारोहमा बोल्दै मैनालीले आफूले भन्नुपर्ने सबैकुरा पुस्तक मै भएको बताउँदै पुस्तक सार्वजनिक गरिदिएकोमा ललितकला प्रज्ञा–प्रतिष्ठानलाई धन्यवाद दिए ।
कार्यक्रममा प्राज्ञपरिषद् सदस्य सौरगंगा दर्शनधारी, अरुणा हिङमाङ, प्राज्ञ ओम खत्री, लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, कोषका सदस्य राजेश शाक्य लगायतको उपस्थिति रहेको थियो ।

SHARE