गिटी-बालुवा बोरामा भर्दै तस्करी

बुटवलको तिनाउ नदीको उकास क्षेत्रबाट गैरकानुनी रूपमा नदीजन्य पदार्थ गिटी, बालुवा चोरी निकासी नियन्त्रणका लागि बुटवल उपमहानगरपालिकाले अभियान थालेको छ।

                                                                                                                                पछिल्लो समय तिनाउ नदी र उकास क्षेत्रबाट नदीजन्य पदार्थ संकलन गरी बोरामा राख्ने र रातको समयमा ट्याक्टर तथा टिपरमा हालेर निकासी गर्ने गिरोह सक्रिय छ। तिनाउ नदी आसपासका बासिन्दा तथा अन्य मजदूर समेतलाई परिचालन गरी नदीजन्य पदार्थ निकाल्दा तिनाउ नदीको बगरभरी पोखरी बनेका छन्।

सोमबार नदीजन्य पदार्थ नियन्त्रणको लागि तिनाउ नदी किनारमा पुगेको उपमहानगरपालिकाको टोलीले सयौं बोरामा भरेर राखेको नदीजन्य पदार्थ पोखिदिएको छ।

                                                                                                                             नदीजन्य पदार्थको चोरी निकासीमा संलग्नहरूले मेसिन तथा उपकरणको प्रयोग गरी चोरी गर्न नपाएपछि तिनाउ नदी किनारमा बसोबास गर्ने तथा मजदुरहरूलाई समेत परिचालित गरी चोरी निकासी गरिरहेका छन्।

केही दिन पहिले तिनाउ नदीको पश्चिमतर्फ रानीगञ्जमा नदीजन्य पदार्थको चोरी निकासी भइरहेको सूचना पाएपछि पुगेको नगरप्रहरी सहितको टोली तस्करहरू भागेपछि रित्तो हात फर्किएको थियो। सोमबारको अनुगमनमा भने खोला किनारमा सयौं बोराहरूमा भरेर राखिएको नदीजन्य पदार्थ फेला

बोरामा नदीजन्य पदार्थ संकलन गर्न दिनहुँ जसो सयौंको संख्यामा स्थानीय र अन्यत्रबाट ल्याइएका मजदुरहरूको ताती लाग्ने गरेको शाहीले बताए। स्थानीय तहले नदीजन्य पदार्थ बोरामा निकाल्दा वातावरणीय प्रभाव मूल्यांकन (इआइए) गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेको छैन। त्यसैको फाइदा उठाउँदै नदी किनारमा बसोबास गर्नेहरू नदीलाई नै जोखिममा पार्ने गरी अवैध उत्खननमा लागिरहेको उनले बताए।

वडा नं. ११ का वडा सदस्य शाहीले उपमहानगरपालिकाले स्थानीयको नाममा भइरहेको नदीजन्य पदार्थको चोरी निकासी नियन्त्रण गर्न नसकेको बताए।

एकएक बोरा गर्दै दैनिक दर्जनौं ट्याक्टर नदीजन्य पदार्थ चोरी निकासी हुँदा मगरघाट र बुद्धनगरमा हालै निर्माण गरिएका पुल जोखिममा परेको बताए।शाहीले सोमबारमात्र १२ सय बढी बोरामा भरेर राखिएको नदीजन्य पदार्थ पोखिएको बताए।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले नदीबाट अवैध रूपमा उत्खनन् गर्नेहरूविरूद्ध अपरेसन चलाइएको बताए। उनले गैरकानुनी काम गर्ने कसैलाई पनि नछाड्ने भन्दै सबैको सहयोग लिएर नदीजन्य पदार्थको चोरी निकासीलाई नियन्त्रणमा लिने बताए।

SHARE