खोटाङको जन्तेढुङ्गा गाउँपालिकामा निःशुल्क आवासीय विद्यालय सञ्चालनमा ल्याइएको छ । जन्तेढुङ्गा गाउँपालिका ३, काहुलेमा गरिब, दलित तथा असहाय बालबालिकाका लागि निःशुल्क आवासीय विद्यालय सञ्चालनमा ल्याइएको हो ।
उक्त आवासीय विद्यालयको उद्घाटन आइतबार प्रतिनिधिसभा सांसद् रामकुमार राई ‘पासाङ’ ले गरेका हुन् ।
पहिलो चरणमा गाउँपालिकाभरिका १९ जना बालबालिका भर्ना गरेर आवाससहितको निःशुल्क शिक्षा उपलब्ध गराउन काहुलेस्थित लक्ष्मी माध्यमिक विद्यालयलाई आवासीय विद्यालय बनाइएको हो ।
गाउँपालिकाभित्रका गरिब, दलित र असाह्य बालबालिकालाई शिक्षाबाट बञ्चित हुन नदिन आवासीय विद्यालय सञ्चालन गरिएको गाउँपालिका प्रमुख अरुणादेवी राईको भनाइ छ । पालिकाले त्यस्ता विद्यार्थीका लागि खाना, खाजा, लत्ताकपडा र शैक्षिक सामग्रीसहित आवासको व्यवस्था गरेको उनले जानकारी दिइन् । यस्तो व्यवस्थाले अब पालिकाका कुनै पनि बालबालिका शिक्षाबाट बञ्चित हुनुनपर्ने उनले बताइन् ।
कक्षा–१० सम्म पठनपाठन हुने उक्त विद्यालयमा सञ्चालन गरिएको आवाससहितको निःशुल्क शिक्षा कार्यक्रमका लागि दुईजना शिक्षक तथा एकजना कर्मचारी व्यवस्थापन गरिएको गाउँपालिको गाउँपालिकाका उपाध्यक्ष खेमबहादुर खड्काले जानकारी दिए । उनका अनुसार तत्कालको लागि लक्ष्मी माविकै एउटा भवनलाई आवासीय भवनका रूपमा सञ्चालन गरिएको छ ।
आवासीय विद्यालय सञ्चालनमा आएपछि खर्च अभावका कारण पढाइ छाड्नुपर्ने अवस्थाका विद्यार्थीहरू लाभान्वित हुने अपेक्षा गरिएको छ ।