१० गतेदेखि तीन दिने ‘जनकपुर साहित्य महोत्सव’ हुने

‘जनकपुर साहित्य महोत्सव’ को पाँचौ संस्करण हुने भएको छ। फागुन १० गतेदेखि तीन दिनका लागि जनकपुर साहित्य महोत्सव हुने भएको हो। नव मिथिला फाउण्डेसनको आयोजना र फ्याक्ट्स नेपालको प्रायोजनमा राम मन्दिरको पार्कमा तीन दिने महोत्सव हुने आयोजकले पत्रकार सम्मेलन गरी जनाएको छ।

महोत्सवमा साहित्य, शिक्षा, स्वास्थ्य, नीति निर्माण, अर्थतन्त्र, सुशासन, राजनीति, खेलकुद, सम्पदा, संस्कार जस्ता १८ वटा ओपन–एयर प्यानल छलफल हुनेछ।

‘चाहियो रंगशाला’, ‘किताबउपर समिक्षा’, ‘कसरी हुन्छ निर्णय?’, ‘नव उद्यमी र उद्यमशीलता’, ‘स्वास्थ्य मधेस’, ‘सम्पदा, संस्कार र साहित्य’, ‘शिक्षाको नयाँ आवश्यकता र परिभाषा’, ‘मधेशको श्रम यात्रा’ विषयमा विमर्श हुनेछ।

फाउण्डेशनका अध्यक्ष अमित साहका अनुसार आगामी फागुन १० गते दिउँसो २:३० बजेदेखि राम मन्दिरको पार्कमा महोत्सव सुरू हुनेछ।महोत्सवको तेस्रो दिन फागुन १२ गते ‘बोल्ने स्वतन्त्रता’, ‘संस्कृतिक सम्बन्धको डोरी’, ‘मौन चित्कार’ र ‘संघीयता गलत अभ्यास वा कमजोर परिकल्पना’ शिर्षकमा वृहत छलफल हुने फाउण्डेशनका उपाध्यक्ष आदित्य नेपालले बताए।

महोत्सवमा करिब ४० लाख खर्च हुने उनले बताए।जसमध्ये भारतीय दूतावासले ९ लाख र जनकपुरधाम उपमहानगरपालिकाले करिब ४ लाख रुपैयाँ उपलब्ध गराउने नेपालले जानकारी दिए। उनका अनुसार बाँकी रकम निजी तथा सार्वजनिक संघ–संस्थाहरूबाट संकलन गरिनेछ।

SHARE